बेलबारी गोल्डकपः बर्षाका कारण फाइनल ३ दिन पछि

बेलबारी । असोज ११ ।
मोरङको बेलबारीमा जारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको फाइनल खेल निर्धारित मिति भन्दा ३ दिन पछि हुने भएको छ । ११ गते हुने तय भएको यस प्रतियोगिताको फाइनल खेल बर्षाका कारण अब असोज १४ गते मंगलबार हुने भएको हो ।
असोज ४ गते सुरु भएको प्रतियोगिताको अन्य खेल तालिका अनुसारनै संपन्न भएपनि ११ गते हुने तय भएको फाइनल खेल बर्षाका कारण संभव नभएपछि १४ गतेलाई सारिएको आयोजक डाँगीहाट युथ क्लब बेलबारी ११ का सचिव ज्ञानुराज राईले जानकारी दिए ।
यस प्रतियोगिताको उपाधिका लागि रोयल क्लब वेष्ट बंगाल र धरान फुटबल क्लब भिड्दैछन । दोस्रो सेमिफाइनलमा बिहिबार एपिएफ काठमाण्डौंलाई ० का विरुद्ध ३ गोल गर्दै रोयल क्लबले उपाधि यात्रा तय गरेको हो । यस अघि बुधबार संपन्न पहिलो सेमिफाइनल खेलमा धरान फुटबल क्लबले मदन भण्डारी स्पोर्ट एकेडेमीलाइ १ का बिरुद्ध २ गोल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
प्रतियोगिताको बिजयी टिमले ५ लाख पाउने छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *