बेलबारीमा स्वास्थ्य विमा सुरुः कम्तीमा १ लाखको उपचार निशुल्क हुने, सेवा लिन मंसिर पर्खिनुपर्ने

असोज ७
बेलबारी नगरपालिकामा स्वास्थ्य विमा कार्यक्रम सुरु भएको छ । मंगलबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ३ जना जेष्ठ नागरिकलाई विमालेख फारम हस्तान्तरण गरेर स्वास्थ्य विमा कार्यक्रम शुभारम्भ गर्नुभएको हो । बेलबारी ३ का वासिन्दा रहनुभएका मेयर सुवेदीलाई पनि सोही वडामा खटिने दर्ता सहयोगीबाट विमालेख फारम प्रदान गरिएको थियो ।
विमा कार्यक्रम सुरु भएसँगै अब नगरवासीका घरघरमा गएर दर्ता सहयोगीहरुले विमालेख फारम भराउने छन् । फारम भरेर परिचयपत्र लिएका सर्वसाधारणले आउँदो मंसिर महिनाबाट स्वास्थ्य विमा अन्तर्गतको निशुल्क उपचार पाउने बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ ।
स्वास्थ्य विमाका लागि फारम भर्दा योगदान रकम पनि तिर्नुपर्ने हुन्छ । ५ जना वा त्यो भन्दा कम संख्याको परिवारलाई एक एकाई मानेर प्रति परिवारको न्युनतम ३ हजार ५ सय रुपैयाँ योगदान रकम (शुल्क) लाग्नेछ । ५ जना भन्दा धेरै सदस्य भएको परिवार भएमा जति सदस्य बढि हुन्छन् तिनीहरुको प्रतिव्यक्ति ७ सय रुपैयाँका दरले थप रकम तिर्नुपर्ने हुन्छ । तिर्नुपर्ने रकम यसवर्षबाट बढेको हो ।
यसरी स्वास्थ्य विमा गर्ने परिवारले न्युनतम १ लाख रुपैयाँ बराबरको उपचार सहुलियत पाउनेछन् । ५ जना भन्दा धेरै सदस्य हुने परिवारले थपिएका सदस्य संख्याका आधारमा प्रतिसदस्य थप २० हजार रुपैयाँको हिसाबले उपचार सहुृलियत पाउनेछन् । सदस्य संख्या बढ्दै गएपनि अधिकतम् २ लाख रुपैयाँसम्मको मात्रै उपचार सुविधा पाइनेछ । ७० वर्ष भन्दा बढि उमेरका जेष्ठ नागरिकले थप १ लाख रुपैयाँ बराबरको सुविधा पाउनेछन् । जसअनुसार जेष्ठनागरिकले स्वास्थ्य विमा मार्फत अन्यको तुलनामा दोब्बर सुविधा पाउनेछन् । विमा सदस्यता परिचयपत्र हरेक वर्ष नविकरण गर्नुपर्दछ उपचार सेवा पनि हरेक वर्ष पाइन्छ ।
स्वास्थ्य विमा फारम भर्दा प्रथम सेवा विन्दु भनेर कुनै नजिकको तोकिएको स्वास्थ्य संस्था पनि उल्लेख गर्नुपर्ने हुन्छ । बेलबारीबासीका हकमा वाहुनी स्थित वाहुनी प्राथमिक स्वास्थ्य केन्द्र र गोठगाउँ स्थित पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताललाई प्रथम सेवा विन्दुको रुपमा लिइएको बेलबारी नपा स्वास्थ्य शाखा प्रमुख सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । पायक पर्ने स्वास्थ्य संस्थालाई पहिलो सेवा विन्दुका रुपमा रोजेका विमित व्यक्तिले पहिलो उपचारका लागि त्यँही जानुपर्ने हुन्छ । ती स्वास्थ्य संस्थाले थप उपचारका लागि अन्य अस्पताल पठाउनुपरेमा धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,विराटनगरस्थित कोशी अञ्चल अस्पताल,नोबेल अस्पताल,विराट मेडीकल कलेज र हाम्रो अस्पताल रेफर गर्नसक्ने पनि विश्वकर्माले जानकारी दिनुभएको छ ।
विमालेख फारम भरेपछि त्यो विवरणलाई हेरेर व्यवस्थित गर्न केही समय लाग्ने स्वास्थ्य विमा वोर्ड प्रदेश १ कार्यालयले जनाएको छ । ‘सिस्टम’ मा सबै विवरण व्यवस्थित गरिएपछि विमितले उपचार सेवामा सहुलियत पाउन सक्नेछन् । अहिले दर्ता सुरु भएकाहरुले सेवाका लागि मंसिर पर्खिनुपर्नेछ । मोरङमा स्वास्थ्य विमा सुरु गर्ने भनेर गएको चैत र असारको समेत भाका राखेको स्वास्थ्य विमा बोर्डले सो समयमा सुरु गर्न सकेन । यदि भनेको समयमै विमा सुरु भएको थियो भने गत भदौ महिनाबाटै सर्वसाधारणले सेवा प्राप्त गर्न सक्ने थिए । स्वास्थ्य विमा नियमावली २०७५ मा बैशाख देखि असार महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको भदौ एक गतेदेखि सेवा पाउने उल्लेख छ । साउन देखि असोज महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको मङ्सिर एक गतेदेखि सेवा पाउने उल्लेख छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *