बेलबारी अन्तराष्ट्रिय गोल्डकपः रोयल क्लब वेष्ट बंगाल सेमिफाइनलमा

७ असोज । रोयल क्लब वेष्ट बंगाल मोरङको बेलबारीमा जारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार संपन्न अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब काठमाण्डौलाई ट्राइबेकरमा पराजित गर्दै रोयल क्लब वेष्ट बंगाल भारतले सेमिफाइनलमा स्थान बनाएको हो ।
ट्राईब्रेकरमा रोयल क्लबका ४ खेलाडीले गोल गर्दा पुलिसका २ खेलाडीले मात्र गोल गरेका थिए । निर्धारित समयमा दुवैतर्फबाट २–२ गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो ।
ट्राइबेकरमा रोयल क्लबका सोनम भुटिया, निरज बस्नेत, कैलाश बस्नेत र लोपसाड्ग लामाले गोल गरे । नेपाल पुलिसका सुमन लामा र भरत साहले गोल गर्दा निर कुमार राई र बुद्ध लामा गोल गर्नबाट चुकेका थिए ।
रोयल क्लब भारतले खेलको तेस्रो मिनेटमा अमिर लामाको गोलबाट अग्रता लिएको थियो । नेपाल पुलिस क्लबले सातौ मिनेटमा बराबरी ग¥यो । पुलिसका सौजन याखाले सातौ मिनेटमा गोल फर्काए । पहिलो हाफ १–१ को बराबरी भएको खेलको दोस्रो हाफको ८१ औं मिनेटमा भारतका दिपु बर्मनले गोल गरे भने पुलिसका सुमन लामाले ८९ औं मिनेटमा गोल गरे । प्रतियोगितामा म्यान अफ दि म्याच भारतका गोलकिपर किशोर गिरी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।
यो खेलसँगै सेमिफाइनल पुग्ने ४ टोलिको टुंगो लागेको छ । धरान फुटबल क्लब, एपिएफ काठमाण्डौ, मदन भण्डारी स्पोर्ट एकेडेमीले यस अघिनै अन्तिम चारमा स्थान बनाइसकेका छन ।
असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजयी टिमले ५ लाख पाउने छ । धरान फुटबल क्लब र मदन भण्डारी स्पोर्ट एकेडेमीबिच बुधबार पहिलो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *