नादेझ्दा कपः किर्गिस्तानमाथि नेपालको ८ गोल

0
13

नेपालले नादेझ्दा कप फुटबल प्रतियोगितामा आयोजक किर्गिस्तानलाई ८–२ को फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार भएको खेलमा स्टार फरवार्ड सावित्रा भण्डारी एक्लैले ४ गोल गरिन । नेपालको जितमा अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले समान १÷१ गोल गरे ।
चौथो मिनेटमा नै गोल गर्दै सावित्राले नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको १५औं मिनेटमा सावित्राले अर्को गोल गर्दै २–० गोलको अग्रता दिलाइन् । खेलको १९औं र २२औं मिनेटमा किर्गिस्तानले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

खेलको २५औं मिनेटमा दिपा राईले गोल गर्दै नेपाललाई फेरि ३–२ गोलको अग्रता दिलाइन् । खेलको ३०औं मिनेटमा सावित्राले गोल गर्दै हृयाट्रिक पूरा गरिन् । त्यस्तै, खेलको ३४औं मिनेटमा अनिता बस्नेत र खेलको ३७औं मिनेटमा कप्तान निरु थापाले गोल गरेपछि पहिलो हाफसम्म नेपालले ६–२ गोलको अग्रता बनाएको थियो ।
दोस्रो हाफको ५३औं मिनेटमा सावित्राले गोल गर्दै ७–२ गोलको अग्रता दिलाइन् । खेलको ९० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ८–२ गोलको जित दिलाइन् ।

यसअघि आजै भएको पहिलो खेलमा उज्बेकिस्तानले ताजिकिस्तानमाथि १२–० को फराकिलो जित दर्ता गरेको थियो । पहिलो चरणको खेल सकिंदा उज्बेकिस्तान शीर्षस्थानमा छ भने नेपाल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।
नेपालले भोली हुने खेलमा उज्वेकिस्तानसँग खेलेपछि मंगलबार ताजिकिस्तानको सामना गर्नेछ ।

राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले बिहीबार उपाधिका लागि खेल्नेछन् ।