बेलबारी स्थित सहारा बालग्रामको जग्गा बेच्नेलाई हदैसम्म कारवाही हुनुपर्ने नेकपा वडा संयन्त्रको माग

0
8

निरन्तर खबर डेस्क, बेलबारी
व्यक्तिको नाममा लगिएको बेलबारी २ स्थित साहारा परिवार नेपाल (सहारा बालग्राम ) को जग्गा तत्काल संस्थाको नाममा ल्याउन नेकपा बेलबारी २ नम्बर वडा संयन्त्र समितिले माग गरेको छ । सहाराको जग्गा व्यक्तिलाई विक्रि गरिएको विषय वाहिर आएपछि केपाल कम्युनिष्ट पार्टी (नेकपा) २ नम्बर वडा संयन्त्रले सोमबार सहाराकै कार्यालय परिषरमा पत्रकार सम्मेलन गरेर त्यस्तो माग गरेको हो । नेकपा २ नम्बर वडा संयन्त्रले सहारामा आश्रित परिवारलाई हट्न आदेस आएको जानकारी पाएको भन्दै ती परिवारलाई हटाउने प्रयास गरिए कडा प्रतिवाद गरिने समेत बताएको छ । संस्थाको जग्गा व्यक्तिलाई विक्रि गर्ने कार्यमा संलग्न नेकपाका कार्यकर्ता नेता जोकोही भएपनि कडा कारवाही गर्न पनि वडा संयन्त्रले माग गरेको छ । वडा संयन्त्र समितिका संयोजक सिताराम न्यौपाने र उपसंयोजक रन्जित गूरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा जग्गा संस्थाकै नाममा नल्याइए जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उल्लेख छ । नेकपा वडा संयन्त्रले व्यक्तिको नाममा गैसकेको १ विगाहा ८ कट्ठा ३ धुर जग्गा फिर्ता गर्न सम्बन्धित संस्था,वडा समिति बेलबारी २ र बेलबारी नगरपालिका सँग माग गरेको छ । नेकपा वडा संयन्त्रले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘यस कार्यमा हाम्रो पार्टी नेकपाका नेता,कार्यकर्ताको संलग्नता भए उनीहरुलाई समेत सबै खाले कार्वाही गर्न हामी उपल्लो कमिटीलाई पनि ध्यानाकर्षण गराउँदछौं ।’


सामाजिक प्रयोजनका लागि स्थापित संस्थाको सम्पत्ति सिंगो समाज र पार्टी निति विपरित विक्रि भैगएकोमा फिर्ता गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण गर्दै कठोर संघर्षको कार्यक्रम समेत गर्न पछि नपर्ने नेकपा २ नम्बर वडा संयन्त्र का संयोजक सिताराम न्यौपानेले चेतावनी दिनुभएको छ ।
अक्षम्य गल्ति,३ करोडमा किनबेच भएको सुनियो : वडाध्यक्ष गौतम
पत्रकार सम्मेलनमा बेलबारी वडानम्बर २ का वडाध्यक्ष घनश्याम गौतमले सहारा सञ्चालकहरुले क्षमा गर्नै नसक्ने गल्ति गरेको भन्दै हदैसम्मको कारवाही हुनुपर्ने बताउनुभयो । ‘संस्थाको जग्गा व्यक्तिको सरह अपचलन गरिएको छ ।’ गौतमले भन्नुभयो ‘यस्तो काममा लागेका जोसुकै हुन कारवाही हुनुपर्दछ । हामी गछौं ।’ नेकपा पार्टी कमिटीमा पनि यसै अनुसार निर्णय भएको र सोही निर्णय अनुसार नै पत्रकार सम्मेलन गरिएको पनि गौतमले जानकारी दिनुभएको छ । सहारा स्थापना गर्न तत्कालिन जग्गाधनीहरुले पनि अति कम मुल्यमा सहारालाई जग्गा प्रदान गरेको र उत्साहका साथ सहारा खुलेको गौतमले सम्झिनुभयो । तर अहिले पुर्वसांसद हकर्मान तामाङकै अगुवाईमा जग्गा विक्री गर्ने काम हुनु लज्जास्पद भएको उहाँले बताउनुभएको छ । ३ करोड रुपैयाँ बराबरको लेनदेनमा जग्गा विक्रि भएको भन्ने सुनिएको भन्दै गौतमले यसविषयमा छानविन गरिने बताउनुभएको छ । वडाध्यक्ष गौतमले सहारामा रहेका कम्प्युटर,देखि लिएर कार्पेटसम्मका सामग्री र एउटा गाडीसमेत कहाँ पुग्यो भन्ने कुराको पत्तो नभएकाले ती सबैकुरा खोजी गरिनैपनै बताउनुभयो । सार्वजनिक सम्पत्ति बेच्ने,अपचलन गर्ने विरुद्ध सबै एकजुट हुनपनि गौतमले सबैलाई आव्हान गर्नुभएको छ । पुर्वसांसद हर्कमान तामाङ,सहाराका वर्तमान अध्यक्ष शिवप्रसाद बराल लगायतकै मिलेमतोमा सहाराको जग्गा डम्बरबहादुर तामाङको नाममा गएको खुलासा भएको थियो । जम्मा १ विगाहा ९ कट्ठामध्ये अहिले सहराको नाममा १७ धुर जग्गामात्रै बाँकी देखिन्छ ।


मेयरका सल्लाहकारहरुलाई हटाउ : कांग्रेस
यसैविच नेपाली कांग्रेस बेलबारी नगर समितिले पनि सहाराको जग्गा तुरुन्त संस्थाकै नाममा फिर्ता ल्याउन माग गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै कांग्रेसले जग्गा विक्रि काण्डमा बेलबारी नगरपालिका का मेयरका सल्लाहकारहरु हर्कमान तामाङ र शिवप्रशाद बरालको समेत संलग्नता देखिएकाले दुवैजनालाई पदबाट हटाउन पनि माग गरेको छ । सभापति सम्भु भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘जग्गा विक्रिमा संलग्नता देखिएका पुर्वसांसद हर्कमान तामाङ र सहाराका अध्यक्ष शिवप्रशाद बराल बेलबारी नगरपालिकाका मेयरका सल्लाहकार पदमा समेत रहेकाले दुवैलाई पदबाट हटाउन नगरपालिका समक्ष माग गर्दछौं्र । ’सहाराग्राममा बसेका २८ घर परिवारलाई त्यहाँबाट विस्थापित गर्ने दुस्साहस नगर्न पनि चेतावनी कांग्रेसले चेतावनी दिएको छ ।