बिचार/दृष्टिकोणबिबिधसमाचारसमाज

प्रचण्ड-बादल अर्धनग्न फोटो : कति सभ्य, कति सन्देशमूलक ?

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

– बबिता बस्नेत

सार्वजनिक व्यक्तिको जीवनमा के–कस्ता र कति कुरा निजी हुन्, के–कस्ता र कति सार्वजनिक ? सार्वजनिक गर्न मिल्ने गतिविधि र गर्न नमिल्ने के हुन् ? मानिस आफैँमा कति निजी हो, कति सार्वजनिक ? यही ०७५ कात्तिकको अन्तिम साता सोसियल मिडियामा भाइरल भएका नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलका अर्धनग्न तस्बिरले यो विषयमा बहसको आवश्यकता देखाएको छ ।

फोटोसँगै सार्वजनिक भएको विवरणअनुसार अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल म्याग्दी जिल्लामा अवस्थित तातोपानी कुण्डमा नुहाउन सरकारी हेलिकोप्टर चढेर जानुभएको हो । उहाँहरू आफ्नै लागि भन्दा पनि प्रचण्डपत्नी सीताको तातोपानीमा उपचार गर्नका लागि चिकित्सकले सुझाब दिएको, सोही सुझाबअनुरूप सिंगापुरमा उपचार हुँदै आएकोमा यसपटक आफ्नै देशको प्राकृतिक कुण्डमा उपचारका लागि म्याग्दी पुग्नुभएको हो । छोरीले आमा सीतालाई डोऱ्याउँदै गरेका केही तस्बिर पनि सार्वजनिक गरिए । पत्नीको उपचारमा जाँदा पतिको फोटो यति धेरै छरपष्ट नपारेको भए पनि हुन्थ्यो, तर ती तस्बिरमार्फत नेता प्रचण्ड शायद नेपाली जनतालाई आफूले अपनाएको मितव्ययिताको सन्देश दिन चाहनुहुन्थ्यो, त्यसैले आफ्नै सचिवालयमार्फत तस्बिरहरू सार्वजनिक गरिए ।

म्याग्दीको तातोपानी कुण्डमा खिचिएका प्रचण्ड—बादलका दुईथरी तस्बिरहरू सार्वजनिक भए । एउटा, कालो रङको अन्डरस्विमिङ कस्टम मात्रै लगाएको नाङ्गो शरीर पानीमा डुबिरहेको र अर्को सोही रूपमा पानी बाहिर कसैले प्रेसर नापेझैँ गरी जाँच गर्दै गरेको, साथमा गृहमन्त्रीले भुँडी सुमसुम्याइरहेको । हेर्दा असहज लाग्ने यी तस्बिरमा सार्वजनिक जीवनका नभई निजी जीवनका क्रियाकलाप समेटिएका थिए । नाङ्गो शरीर पानीमा डुबाइएका दृश्य जनताले थाहा नपाए पनि हुन्थ्यो । लुगा नलाएका बेला उहाँहरूको शरीर कस्तो देखिन्छ भन्ने कसैको चासोको विषय होइन । उहाँहरू दुवैजना लुगा नलाउँदाभन्दा लगाउँदा नै आकर्षक देखिनुहुँदोरहेछ भन्ने पनि तस्बिर हेरेपछि थाहा भयो ।

उहाँहरूले थाहै नपाई कसैले तस्बिर खिचेर सामाजिक सञ्जालमा हालेको हो भने त्यो पनि गलत हो । यदि जानकारी नदिई गरिएको भए सार्वजनिक व्यक्तित्वका निजी तस्बिरहरू त्यसरी छरपष्ट पार्नु अशोभनीय मात्र होइन, गैरकानुनी पनि हो ।

आखिर त्यसप्रकारका भद्दा तस्बिर सार्वजनिकचाहिँ किन गरियो ? ‘म पनि नेपालमै आफ्नो र श्रीमतीको उपचार गराइरहेको छु’ भन्ने सन्देश दिनकै लागि त्यति गरिएको हो भने तस्बिरबिनाका समाचार या कपडासहितका तस्बिर (नुहाउन जाँदै गर्दा या सकेर कपडा लाएपछि) सार्वजनिक गर्न सकिन्थ्यो । नेपालीहरू त्यति कुरा बुझ्ने अवस्थामै छन् अहिलेसम्म । उहाँहरूले थाहै नपाई कसैले खिचेर सामाजिक सञ्जालमा हालेको हो भने त्यो पनि गलत हो । यदि जानकारी नदिई गरिएको भए सार्वजनिक व्यक्तित्वका निजी तस्बिरहरू त्यसरी छरपष्ट पार्नु अशोभनीय मात्र होइन, गैरकानुनी पनि हो । यस्तो कार्यलाई प्रोत्साहित गर्नुहुँदैन ।

तर, सामाजिक सञ्जाल र केही मिडियामा छ्यापछ्याप्ती हुँदा पनि कुनै प्रतिक्रिया नआएबाट स्वीकृति नलिई तिनलाई सार्वजनिक गरिएको थिएन भन्ने प्रस्ट हुन्छ । साथमा सुरक्षाकर्मीको लर्को देखिएकाले फोटो खिच्न निषेध गरिएको भए कसैले आँट नै गर्ने थिएन । तर, निश्चित सन्देश दिनका लागि खिचिएका हुनाले ती तस्बिरहरू सार्वजनिक गरियो । यद्यपि तस्बिरले उहाँहरूले दिन खोजेको सन्देश कम र भद्दापन बढी प्रवाह गऱ्यो । तस्बिर हेर्ने धेरैको मुखबाट अनायसै निस्कियो, हरे…के गरेको होला यस्तो ?

सार्वजनिक स्थानमा के लाउने, के खाने, कोसँग कसरी भेट्ने, के कुरा गर्ने, के नगर्नेजस्ता कुराहरूको तय व्यक्ति आफैँले गर्ने हो । आफ्नो पेसा, व्यवसायअनुरूपको आफ्नो जिन्दगीको आचारसंहिता मानिसले आफैँ बनाउने हो । सार्वजनिक व्यक्तित्वको पनि निजी जिन्दगी हुन्छ, कति निजी हो कति सार्वजनिक आफैँले तय गर्ने कुरा हो । महिला हुन् या पुरुष आ–आफ्नो शरीरका सम्बन्धमा व्यक्तिगत र सार्वजनिक छुट्टाछुट्टै सीमाहरू हुन्छन् । सार्वजनिक जीवन बाँचिरहेकाहरूका लागि सार्वजनिक स्थान सधैँ सचेत भइरहनु पर्ने ठाउँ हो ।

जस्तोसुकै भए पनि सर्वसाधारणलाई नेताको शरीरभन्दा ‘भिजन’ हेर्ने इच्छा हुन्छ । तिनको इमानदारी, देशलाई दिने दिशा निर्देश र जनतालाई दिने शान्ति सुव्यवस्थाकै चर्चा गर्ने चाहना हुन्छ ।

प्रचण्ड र बादलले नुहाउनुभएको तातोपानी कुण्डमा यसअघि कतिले फोटो खिचाए होला, नुहाउँदै गरेका तस्बिरहरू सामाजिक सञ्जालमा राखे होला, तर बाहिरी संसारलाई मतलबै भएन । यसैगरी कुनै पौडीखेलाडीका त्यसप्रकारका फोटाहरू सार्वजनिक भएका भए तिनले मानिसको मनमा कुनै आश्चर्यभाव पैदा गर्ने थिएन । जस्तोसुकै भए पनि सर्वसाधारणलाई नेताको शरीरभन्दा ‘भिजन’ हेर्ने इच्छा हुन्छ । तिनको इमानदारी, देशलाई दिने दिशा निर्देश र जनतालाई दिने शान्ति सुव्यवस्थाकै चर्चा गर्ने चाहना हुन्छ । सार्वजनिक व्यक्तित्वका निजी चर्याका बारेमा सर्वसाधारणलाई रुचिचाहिँ हुन्छ ।

मिडियामा त्यसप्रकारका घटनाहरू आउँदा ती निकै बिकाउ पनि हुन्छन् । ओबामाले हाफपाइन्ट र टी–सर्ट लगाएर तरकारी किन्दै गरेको, जनरल मुसर्रफ राष्ट्रपति हुँदा टी–सर्ट र पाइन्टमा कफी सप गएको, बेलायतका पूर्वप्रधानमन्त्रीले घर सर्दा आफैंले सामान सार्दै गरेकोजस्ता तस्बिर मिडियामा धेरै चर्चा पाएकामध्ये पर्छन् । त्यसो त, हामीकहाँ प्रधानमन्त्री रहेकै बेला सुशील कोइरालाले तौलिया बेरेर बसेको फोटो पनि बाहिर आएको थियो । उहाँका आसपासका असंवेदनशील मानिसले घरमा निजी समय बिताइरहेका बेला खिचेर सार्वजनिक गरिएको उहाँको जिन्दगीकै झुर फोटो भन्न मिल्ने थियो त्यो ।

खासमा हाम्रा नेताहरूको त त्यो स्थिति पनि होइन । मुलुक चलाउने उहाँहरूको क्षमता र मानसिकतामाथि प्रश्न उठे पनि शारीरिक क्षमतामाथि प्रश्न उठिसकेको अवस्था छैन ।

प्रचण्ड–बादल फोटो प्रकरणलाई कतिले माओको नक्कल गर्न खोजेको पनि भने । सन् १९६६ मा माओले याङ्जी नदीमा पौडी खेल्दै गरेको फोटो रणनीतिक रूपमा सार्वजनिक गरिएको थियो । माओत्सेतुङले वरिपरि ६ जना बडिगार्ड राखेर स्विमिङ गर्दै गरेको उक्त फोटोलाई चीनको इतिहासमै शक्तिशाली राजनीतिक प्रचारका रूपमा लिइन्छ । माओको शारीरिक क्षमतामाथि प्रश्न उठिरहेका बेला ६५ मिनेटमा १५ किलोमिटर पौडिएर रेकर्ड ब्रेकिङ पर्फर्मेन्स गरेको भनी उक्त तस्बिरमार्फत विश्वव्यापी प्रचार गरिएको थियो । खासमा हाम्रा नेताहरूको त त्यो स्थिति पनि होइन । मुलुक चलाउने उहाँहरूको क्षमता र मानसिकतामाथि प्रश्न उठे पनि शारीरिक क्षमतामाथि प्रश्न उठिसकेको अवस्था छैन ।

नेता भइसकेपछि कतिपय कुराहरू सोचविचार गरेरै गर्नुपर्ने हुन्छ । यतिसम्म कि आफ्नो छोरो सञ्जय गान्धीको हवाई दुर्घटनामा निधन भएपछि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले अस्पतालमा राखिएको छोराको लासछेउमा जाँदा सुरक्षाकर्मीलाई समेत भित्र छिर्न नदिई एक्लै गएकी थिइन् रे । यसबाट उनी देशको प्रधानमन्त्री भक्कानिएर भावविह्वल भएको अरूले देखुन् भन्ने चाहन्न थिइन् भनेर बुझ्नुपर्ने हुन्छ । मान्छे हो, हाँस्न, रुन, नाच्न, मानवीय स्वभावका सबै कुरा गर्न मन लाग्छ । तर, एकान्तमा जे गरे पनि पदीय हैसियतले तिनलाई सार्वजनिक रूपमा प्रकट गर्ने सुविधा दिँदैन । एकान्तमा रहँदा आफ्नो जिन्दगीका अनेक मोडहरू सम्झिएर भावुक नहुने मानिस कति होलान् र ? तर, बाहिर त मुस्कुराइरहेकै देखिन्छन् ।

अन्त्यमा, ती फोटोहरू हेरेर मनमा उठेका प्रश्न– उहाँहरूकै पदीय हैसियतमा रहेका महिला नेताका त्यस्ता तस्बिरहरू सार्वजनिक भएका भए के हुन्थ्यो होला ? श्लील र अश्लीलताले कति ठूलो चर्चा पाउने थियो होला ?साभार – घटना र बिचारबाट 

Facebook Comments
Show More

Related Articles