
काठमाडौं २७ कात्तिक । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । लामो समयदेखि खाली रहेको भारतको लागि राजदूतमा पूर्वमन्त्री एवं संविधानविद् नीलाम्बर आचार्य सिफारिसमा परेका छन् ।
आचार्य नेपाल–भारत सम्बन्ध सुधारका लागि गठित प्रवुद्ध व्यक्ति समूहका सदस्य हुन् ।
यसअघि भारतका लागि राजदूतमा मन्त्रिपरिषद्ले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई नियुक्तिको सिफारिस गरेको थियो । तर संवैधानिक निकायको प्रमुख भइसकेको व्यक्ति नियुक्त गर्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण उनको नियुक्ति सफल हुन सकेको थिएन ।
नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्यायले दिल्ली छाडेर प्रतिनिधि सभाको निर्वाचन लड्न आएपछि भारतका लागि नेपाली राजदूत खाली भएको थियो ।
यस्तै मन्त्रिपरिषद् बैठकले मलेसियाका लागि उदयराज पाण्डे र यूएईका लागि कृष्णप्रसाद ढकाललाई राजदूत सिफरिस गरेको छ ।
उनीहरुको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि एग्रिमो स्वीकृतिका लागि सम्बद्ध देशमा पठाइनेछ । एग्रिमो स्वीकृत भएर आएपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ ।
यद्यपि मन्त्रिपरिषद्को निर्णय भने औपचारिक रुपमा जानकारी दिइएको छैन ।