समाचार

पार्बा मनाउँदै धिमाल समुदाय

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कात्तिक २१
मुलुकभर तिहारको रमझम चलीरहँदा पुर्वका विशेषगरी झापा मोरङ र सुनसरीमा बसोबास गर्ने धिमाल समुदाय पनि तिहारकै बेला मनाइने ‘पार्बा’ रमझममा लागेका छन् । पार्बा औंसीको भोली र पर्सी पल्ट २ दिन मनाइन्छ । यसपाली कात्तिक २२ र २३ गते यो पर्व परेको छ ।पार्बा धिमालहरुको पुर्खा सँग सम्बन्धित पर्व हो । यसमा लक्ष्मी बेराङ,सालि बेराङ,पितृ पुजा लगायत हुन्छ । यो पर्वमा विभिन्न भोग चढाएर पुजा गरिन्छ । धिमाल युवा अजित धिमालका अनुसार धरमठाकुरलाई सेतो परेवा वा सेतो भाले भोग दिने चलन छ । चौमाझीलाई भाले कुखुरा,लक्ष्मी बेराङलाई पोथी कुखुरा र बुढाढाकुरलाई रातो भाले बली दिने गरिन्छ । यस पर्वमा घर लिपपोत गरेर सजाउने गरिन्छ । भोग दिएका जन्तु पंक्षीहरुको मासुको परिकार विशेष खानपिन तयार गरिन्छ ।

यो पर्वमा छोरीचेलीहरु पाहुना आउने गर्दछन् । पुजाका क्रममा भने सिन्दुर, सुपारी,पानको पात,चामल भिजाएर दहि,केरा मिसाएर बनाइएको अक्षता प्रयोग हुन्छ । अगरवत्ती धुमाना पनि प्रयोग गरिन्छ । पार्बा औसीको भोलीपल्ट देखि सूरु हुन्छ । तिहारको अन्तिम दिन खोला नाला,इनार,कल त्यस्तै खेतीपाती तथा घरमा प्रयोग गरिने सामग्रीहरु हलो जुवा, खुकुरी,बन्चरो,कोदालो लगायत सामानको पुजा गरिने अजितले जानकारी दिए । वितेका पुर्खाहरुको नाममा परम्परा अनुसार बली दिएर पुजा गरिने भएकाले यसलाई बोमीको दिन भनिने धिमाल जातिय विकास केन्द्रका महासचिव केदार धिमालले जानकारी दिए । उनका अनुसार पार्बा २ दिन मनाइने गन्छि ।यो पर्व औंसीको भोलीपल्टबाट सूरु हुन्छ ।
पार्बा किन मनाईन्छ ?
धिमालको संस्कृतिबारे राम्रो दख्खल राख्ने ताराबहादुर धिमालका अनुसार पार्बा मनाउनुको पछाडी एउटा भनिने गरिएको इतिहाँस छ । उहिले धिमालका पुर्खा र सत्रुबिच लडाई पर्यो । पश्चिम दिशाबाट सत्रुले धिमाल पुर्खाहरुलाई खेद्दै आए । धिमाल पुर्खाहरु भाग्ने क्रममा कोशी नदीमा आएर रोकिए । उनीहरुले सत्रुसँग हार्नुभन्दा कोशीमै हाम फालेर मर्नु राम्रो हुने सम्झेर हाम फाले । तर सत्यताका कारण उनीहरुलाई नदीले बगाएन । बरु उनीहरु कोशी नदी तरेर पुर्वी किनारामा आउन सफल भए । त्यसपछि फेरी भाग्दै सुरक्षित ठाउँको खोजी गर्ने क्रममा मोरङको भोगटेनीमा गएर बसे । यसरी कोशीमा हाम फाल्दा पनि त्यहाँका जलचरले धिमाल पुर्खालाई केही गर्नुको सट्टा ज्यान जोगाइदिएकाले ती नै जलचरहरुलाई ७ जोर कुखुरा,७ सुपारी,७ पैसा तथा फुलहरु लिएर पुजा गर्न जाने चलन बस्यो । पुस्ताहरु फेरिदै गर्दा पुजा स्थल पनि फेरिदै गयो र नजिकैको खोला,हुँदै आगन र घरमै पनि पुजा गर्ने चलन बसेको ताराबहादुर बताउँछन् । हिजो आज भने यो पर्वसँगै भाइटिका लगाउने चलन पनि सूरु भएको अजित धिमालले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles