बिबिधसमाचारसमाज

अझै बनेन गान्धी तुलसी उद्यान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
सुनवर्सी(मोरङ) ८ कात्तिक । मोरङको सुनवर्सी १ र ४ स्थित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले निर्माण गर्ने भनिएको गान्धी तुलसी स्मारक उद्यान अझै निर्माण हुन सकेको छैन । झण्डै १० वर्ष अघि उद्यान निर्माणको घोषणा गरेको महागुठी नै गुमनाम भएपछि उद्यान निर्माण पनि स्थानीयका लागि आकासे फल जस्तै भएको छ ।
वि.स.१९८१ मा स्थापना भएको गुठीलाई वि.स. २०१३ सालमा तत्कालीन जमिन्दारहरू घमण्डीलाल राजवंशी र बद्री अग्रवालले दान गरेको २२ विगाहा जग्गामा महागुठी रहेको छ । भारतीय स्वतन्त्रता आन्दोलनका प्रणेता स्वर्गीय महात्मा गान्धी र उनका नेपाली चेला स्वर्गीय तुलसी मेहर श्रेष्ठले गरीव ,दुखीलाई चर्खाबाट धागो कात्न लगाई स्वदेश मै कपडा उत्पादन गराई आत्मनिर्भर बनाउने उदेश्यले ९४ वर्ष अघि महागुठीको स्थापना भएको हो । तर,जग्गालाई उचित संरक्षण गरी बहु आयमिक बनाउँन नसक्दा गुठीको अस्तित्व नै गुमनाम हुँदै गएको छ । गुठीले ठेक्का लगाएको जग्गाबाट वार्षिक १५ मनका दरले धान उठाउने र बेच्ने बाहेक केही गर्न सकेको छैन ।
दक्षिण पुर्वी मोरङको अत्यन्तै उर्भर जग्गामा महागुठीले प्राविधिक शिक्षालय,मनोरम पार्क, वृद्धाश्रम,पोखरी,गान्धी र श्रेष्ठका शालिक राखेर गान्धी तुलसी स्मारक उद्यान निर्माणको मास्टर प्लान तयार गरेको थियो । तर महागुठीमा उर्मिला गर्ग र उदयमान श्रेष्ठले आफू अध्यक्ष भएको दाबी गर्दै दुई समिति गठन गरेपछि हाल दुबै अध्यक्ष सर्वोच्चको मुद्धा फैसला पर्खेर बसेका छन् । उदयमान श्रेष्ठको समितिका सदस्य विष्णुप्रसाद दूलालले भन्नुभयो –सर्वोच्चमा उर्मिला गर्ग पक्षले मुद्धा हालेको छ , २४ मङ्सिरमा फैसला भएपछि मात्र मास्टर प्लनको काम सुरु हुन्छ ।
गुठीको जग्गामा विद्यालय, दोमना बजार लगायत स्थानीय यादव परिवारको बसोवास रहेको छ । उनीहरूको बसोबासको प्रवन्ध मिलाउन गुठीलाई चुनौति हुने स्थानीय लोकनाथ कोइरालाको बुझाई छ । नगरपालिका भित्र ऐतिहासिक महत्वको नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी रहेको भएपनि नगरले त्यसको संरक्षण र प्रर्वद्धन लागि कुनै प्रयास गरेको छैन् । नगर प्रमुख कालीप्रसाद दासले भन्नुभयो –महागुठीको बारेमा भरखर अध्ययन सुरु गरेको छु । विस्तृत कुरा बुझेर समस्या समाधानमा लाग्ने नगर प्रमुख दासको भनाई छ ।
महागुठीको जग्गामा बस्दै आउनु भएका साविक अमरदह ७ का प्रकास शिवाकोटीले समेत गुठीको विगत र वर्तमानका बारेमा आफू जानकार नभएको बताउनु भयो ।
महागुठीका सदस्य विष्णुप्रसाद दुलालले लुम्बिनी क्षेत्र विकास कोष कै ढाँचाबाट सो क्षेत्रमा मास्टर प्लान सञ्चालन गर्ने बताए पनि उक्त कुराको जानकारी स्थानीय स्तरमा नभएको प्रेम श्रेष्ठको भनाई छ । उहाँले भन्नुभयो –विद्यालय र बजारले ओगटेको साडे ६ विगाहा जग्गा बाहेक सबै जग्गा यादव परिवारले उपभोग गरेका छन् । उनीहरूले ठेक्का तिरे नतिरेकोबारे सर्वसाधरणलाई थाहा हुँदैन । उहाँले कागजमा मात्र प्लान बनाएर महागुठीको काम नदेखिने टिप्पणी गर्नुभयो ।
ऐतिहासिक महत्वको भनेर चर्चा भए पनि स्थानीय स्तरमा कुनै पनि गतिविधि नहुने र काठमाडौं केन्द्रीत कार्यक्रम हुने गरेकोले सर्वसाधरणको चासो नभएको अमरदहबासीको बुझाई छ । तर, सदस्य दुलाल महागुठीको जग्गा देशैभर रहेकोले केन्द्रीय समिति मात्र गठन भएको बताउनु हुन्छ । उहाँले भन्नुभयो –गुठीको जग्गा जहाँ–जहाँ छ ,त्यस क्षेत्रका ब्यक्तिहरूको सहभागितामा गुठी गठन भएको हो ।

Facebook Comments
Show More

Related Articles