बिबिधसमाचारसमाज

७३ वर्षीय निरौलाको साइकल मोह

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
कानेपोखरी(मोरङ) २८ असोज । सामान्यतया एउटा साइकलको आयु कति हुन सक्छ । ५ वर्ष १५ वर्ष वा २५ वर्ष ?तर मोरङको कानेपोखरी–७का फणिन्द्रप्रसाद निरौला ५१ वर्ष अघि किनेको साइकल अहिले पनि कुदाइरहनु भएको छ । उहाँले साइकल २०२४ साल फागुन १७ गते वीरगञ्जको श्याम स्टोरमा ३७६ रुपैयाँ हालेर किन्नुभएको थियो । उसबेला उहाँ चितवन जिल्लामा बसोबास गर्नुहुन्थ्यो ।
सुन्दा पत्याउन गाह्रो लागेपनि ७३ वर्षीय निरौलाको साइकल मोह अचम्म लाग्दो मात्र हैन चाख लाग्दो पनि छ । उहाँको कपाल सेतै फूलिसकेको छ,दाँत झर्ने सुरसारमा छन् तर पनि उहाँ साइकल यात्राबाट थाक्नु भएको छैन् ।उहाँ भन्नुहुन्छ –‘छोराको बिहेमा जन्ती जाँदा बाहेक बस चढेको छैन् ।’उहाँले ९ वर्षको उमेरमा २०११ सालमा साथीको साइकल सिक्नु भयो । उसबेला साइकल मागेर कुदाउने जमाना थिएन तर पनि उहाँले लामो समय सम्म साथीसंगीका साथै रहेर साइकलको यात्रा गर्नुभयो । संस्कृत र पूर्वीय शास्त्रको राम्रो ज्ञान भएका निरौला मेची र कोशी अञ्चलमा हुने कुनै पनि कार्यक्रममा साइकलबाटै यात्रा तय गर्नुहुन्छ ।उहाँ श्री वैष्णव समाजको संगठित सदस्य समेत हुनुहुन्छ ।समाजका हरेक कार्यक्रममा उहाँको उपस्थिति हुने गरेको छ । हरेक १५ दिनमा आउने एकादशी तिथिका दिन मोरङको टंकीसिनवारीमा हुने समाजको भजन कार्यक्रममा उहाँको नियमित सहभागिता हुने गरेको छ । टंकीसिनवारी उहाँको घरबाट ४० किलोमिटर टाढा छ ।
उहाँलाई साइकल यात्रा सजिलो लाग्छ ,सार्वजनिक बसमा यात्रा गर्दाको अनुभव नभए पनि सुनेकै भरमा बसको यात्रा उहाँलाई दिक्दार लाग्छ । उहाँलाई पानी ,झरी,घाम,वादल,जाडो,चिसो केहीले पनि यात्रा गर्न छेक्दैन । सकारात्मक चिन्तनमा हिडेपछि सामान्य अवरोधको उहाँ वास्ता पनि गर्नु हुन्न ।भगवानको भक्तिमा लागेको ब्यक्तिलाई घामपानी,झरी वादल सामान्य कुरा हुन,उहाँको भनाई छ ।
३५ वर्ष अघि मोरङको रमाइलोमा बसाई सर्नु भएका निरौला कर्मकाण्ड र संस्कृत विषयका जानकार ब्यक्ति हुनुहुन्छ ।तर उहाँ कर्मकाण्ड गर्नुहुन्न । भन्नुहुन्छ–सबै कुराको ज्ञान छ ।‘मैले आफू शास्त्रीय कुरा गर्दा अरुबाट ठगिनु नपरोस भनेर मात्र अध्ययन गरेको हुँ । आफ्नो श्री वैष्णव समाजमा भने उहाँ पूर्णकालिन कार्यकर्ता जस्तै भएर समय दिनुहुन्छ ।
६३ वर्ष देखि साइकल यात्रा गरिरहनु भएका निरौला अहिले सम्म पनि गल्नु भएको छैन् ।कहिले सम्म साइकल चढ्ने भन्ने जिज्ञासामा उहाँले भन्नुभयो –‘मैले मेरो सजिलोको लागि साइकल चढेको हुँ जहिले सम्म सजिलो लाग्छ ,चढिरहन्छु ।उहाँले उमेरमा लगातार १४÷१५ दिन सम्म साइकल चलाएर यात्रा तय गर्नुभयो ।उसबेला साइकलको महत्व राम्रै थियो । कसैले ख्याल गर्दैन थिए ।जसले ख्याल गथ्र्यो ,उसले पनि सकारात्मक दृष्टिले हेथ्र्यो । अहिले समय बदलिएको छ ।उहाँ भन्नुहुन्छ–धेरैले मलाई मेची महाकाली साइकलमा हिड्छ भन्छन् ,खिसी पनि गर्छन ।यद्यपि म कसैका कुरा नसुनी आफ्नै गतिमा हिड्ने मान्छे भएकोले वास्ता गर्दिन् ।
त्यसो त उहाँलाई साइकल चढेकै कारण स्वास्थ्यमा कुनै समस्या पनि आएको छैन् । सात्विक भोजन,नियमित ब्यायाम र भगवान भक्तिमा लिन भएकै कारण आज सम्म उहाँले रोगका कारण थलिनु परेको छैन् । ६ जनाको संयुक्त परिवारमा बस्दै आउनु भएका निरौलाले भन्नुभयो –७३ वर्षको भएँ, मुखमा सीटामोल सम्म हालेको छैन ।

Facebook Comments
Show More

Related Articles