समाचार

चुनाव हारेका वामदेवलाई जिताउनकै लागि निर्वाचित सांसदले दिए राजीनामा

राजीनामा स्विकृत भए वामदेवलाई चुनाव लड्ने बाटो खुल्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असोज २३
गएको मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचन हारेका नेकपाका नेता वामदेव गौतमलाई सांसद बन्ने बाटो खुलाउनकै लागि निर्वाचित सांसदले राजीनामा घोषणा गरेका छन् ।काठमाडौं ७ का नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा दिएको घोषणा गर्नुभएको हो । मानन्धरले सांसद पदबाट दिने राजीनामा स्विकृत भएमा सो क्षेत्रमा उपनिर्वाचन हुनेछ । उपनिर्वाचनमा वामदेवलाई उमेद्वार बन्ने बाटो खुल्ने छ । चुनावमा विजयी भएमात्रै गौतम सांसद बन्नुहुनेछ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै मानन्धरले आफूले पार्टीसमक्ष राजीनामा पेश गरेको र पार्टी कमिटीले छिट्टै राजीनामा स्वीकृत गर्ने बताउनुभयो ।

पत्रकारहरुको प्रश्नको उत्तर दिँदै सांसद मानन्धरले बामदेव गौतम पार्टीका लागि लामो त्याग गरेका र आफूजस्तो फुत्त राजनीतिमा आएको व्यक्ति नभएको भनी बामदेव गौतमको प्रशंसा गर्नुभयो ।

देशमा शान्ति र समृद्धि आवश्यक भएकोले पार्टीले निर्णय गरे अनुसार आफू वामदेवका लागि निशर्त पद छोड्न तयार भएको पनि उहाँले बताउनुभयो ।

गएको मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा मानन्धर काठमाडौं ७ बाट विजयी हुनु भएको थियो । उहाँले पछिल्लो निर्वाचनमा १८ हजार १ सय २ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापालाई ८ हजार भन्दा बढी मतले पराजित गर्नुभएको थियो ।

आफूले कसैको दबाबमा नभई स्वेच्छिक रुपमा राजीनामा दिएको पनि प्रस्ट पार्नुभयो । ‘मैले कसैको दबाबमा आएर राजीनामा दिन लागेको होइन,ञ उहाँले भन्नुभयो, ‘मैले आफैंले नेता वामदेव गौतमलाइ मेरो क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको हुँ ।’

पार्टीकै सचिवालय सदस्य वामदेव गौतमले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा गरेपछि मानन्धरले राजीनामा दिएका हुन् । ुपार्टीलाइ गौतम जस्तो अनुभवी नेताको खाँचो छ, उहाँले भन्नुभयो, गौतम मजस्तो फुत्त आएका नेता होइनन् ।’

पत्रकार सम्मेलनमा मानन्धरले पार्टी एकता गर्न भूमिका खेलेको नेता भएकाले पनि वामदेवलाई संसदमा ल्याउनु आवश्यक ठानेरै आफूले राजीनामा दिएको बताउनुभयो । ‘गौतम सांसदमा आउनुभयो भने पार्टीलाइ काम गर्न पनि सहज हुने भएर मैले राजीनामा दिएको हुँ’ , उहाँले बताउनुभयो ।

पार्टीले गर्ने निर्णयमा नै आफू चल्ने भन्दै उहाँले पार्टीले दिने जिम्मेवारी लिन तयार रहेको बताउनु भयो । ‘पार्टीले राष्ट्रियसभा सदस्य वा मन्त्री पनि बनाउन सक्ला तर त्यो पार्टीको कुरा हो, उहाँले भन्नुभयो ।

गौतमले केही महिनायता आफूलाई सांसद बनाउन पार्टीको सचिवालय बैठकमा निरन्तर छलफल गराइरहनु भएको थियो । गौतम गएको चुनावमा बर्दिया–१ बाट पराजित हुनुभएको थियो । उहाँ कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सयभन्दा बढी मतले पराजित हुनु भएको थियो । तर अन्तर्घातका कारण आफू पराजित हुनु परेको गौतमले बताउँदै आउनु भएको छ ।

गौतमले यसअघि डोल्पाबाट सांसद बन्ने प्रयास गर्नुभएको थियो । तर त्यहाँबाट विजयी सांसद धनबहादुर बुढालाई कार्यकर्ताले राजीनामा नगर्न दबाब दिएपछि गौतमले अन्य क्षेत्रको खोजी गरिरहनु भएको थियो । त्यसपछि पनि उहाँले दैलेख, बाँके लगायतका कुनै जिल्लाबाट चुनाव जितेर सांसद बन्ने प्रयास गरिरहनु भएको थियो ।

Facebook Comments
Show More

Related Articles