खेलकुद

नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असोज २१
नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार तेस्रो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई डीएल पद्दतिको आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालले जितका लागि दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.२ ओभरमा ९ विकेटको क्षतिमा १८ रन बनाएको अवस्थामा वर्षा भएपछि डकवर्थ लुइस (डीएल) को नियमअनुसार नेपाल फराकिलो जित निकाल्न सफल भयो। थाइल्याण्डका कुनैपनि ब्याट्सम्यानले दोहोरो रनको आकडा पार गर्न सकेनन्। वान्चना उइसुक र जियाउल हकले सर्वाधिक ७–७ रन बनाए।

थाइल्याण्डलाई कम स्कोरमा समेटन नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। सन्दीपले ३ ओभर बलिङ गर्दै १ मेडन राखेर ८ रन खर्चिए। त्यस्तै करण केसीले ३ र ललित राजवंशीले १ विकेट लिए। योसँगै सन्दीपले ३ खेलमा १४ विकेट लिइसकेका छन्।

यसअघि क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो। नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले विस्पोटक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए। उनले १४ बलमा २ चौंका र ४ छक्का प्रहार गरे।

करणले १९.३,१९.४ र १९.५ मा लगातार ३ छक्का प्रहार गरेका थिए। त्यस्तै सोमपाल कामी ४ रनमा नटआउट रहे। मध्यक्रममका ब्याट्सम्यान लगातार आउट भइरहेको अवस्थामा क्रिजमा आएका करणले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सम्मानजनक स्कोर खडा गरेको थियो।

पहिलो विकेट २८ रनमा गुमाएको नेपालका लागि विनोद भण्डारी २.३ ओभरमा १५ रन जोडेर आउट भए। उनले ८ बलमा २ चौंका र १ छक्का प्रहार गरे।

दोस्रो विकेटका रुपमा अनिल शाह ५.३ ओभरमा २५ रन बनाएर आउट भए। उनले १७ बलमा ७ चौंका प्रहार गरे।

Facebook Comments
Show More

Related Articles