बिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

नोवेलमा विकीरणबाट बच्न स्वास्थ्यकर्मीलाई तालिम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विराटनगर ५ असोज ।नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले अस्पतालका विकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धी कार्यशालाको आयोजना गरेको छ । १ नम्बर प्रदेश स्तरीय कार्यशालाको बिहीबार विराटनगरमा प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गर्नुभयो । उहाँँले कार्यशालाको उद्घाटन गर्दै विकिरणबाट बच्न सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो।

नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यशालामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा.बुद्धिरत्न खड्गी, नोबेल शिक्षण अस्पतालका निर्देशक डा.राजेश नेपाल, प्रो.डा.सितारामप्रसाद ब्यहुत लगायतले विकिरणबाट बच्न सबै अस्पतालहरुमा सावधानीको खाँचो औल्याउनु भयो ।

राजधानीका अस्पतालहरुमा विकिरण सुरक्षा सम्बन्धि अभ्यास भइरहेतापनि मोफसलका अस्पतालहरुमा भने कमै मात्र यो अभ्यास हुने गरेको छ । अस्पतालमा प्रयोग हुने एक्सरे, म्यामोग्राफी, सीटीस्क्यान, क्याथल्याब, सिआर्म लगायतमा मानव स्वास्थ्यलाई खतरनाक विकिरण निस्कने गर्दछ ।

यी मेसिन प्रयोग गर्ने कर्मचारीहरुले विकिरणको मात्रा मापनका लागि टिएलडी ब्याज लगाउनुपर्छ । सोहि ब्याच लगाउने अभ्यासलाई १ नम्बर प्रदेशमा पनि विस्तार गर्न कार्यशाला गरिएको हो ।

कार्यक्रममा नोबेलका डा.तेजेन्द्र कार्की, नास्टका डा.बुद्धराम शाह र बीर अस्पतालका डा.कञ्चनप्रसाद अधिकारीले विकिरण सुरक्षा र सावधानीका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा १ नम्बर प्रदेशका विभिन्न अस्पतालबाट करिब सय जना सहभागि भएको नोबेल अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles