बिचार/दृष्टिकोणबिबिधसमाज

अवसरको चाङमा अलमलिएको काङ्ग्रेस

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

 इन्द्रबहादुर बराल

यतिबेला काङ्ग्रेसका लागि अवसरैअवसरको अवस्था छ भनियो भने ‘के भनेको होला ?’ भनी अलमलमा पर्ने सायदै कोही होलान् । जति–जति सत्तासीन पार्टीको अघिल्तिर चुनौतीको पहाड तेर्सिँदै छ, त्यति नै अवसर प्रतिपक्ष पार्टीलाई मिलेको छ । वास्तवमा यस्तो अवसर नेपाली काङ्ग्रेसले विरलै प्राप्त गरेको होला ।

पूर्वमाओवादी र पूर्वएमालेको मिलनबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्तारुढ छ । ती दुवै पूर्वपार्टीको पृष्ठभूमि हेर्दा मात्रात्मक रूपमा तल–माथि भए पनि चारित्रिक दृष्टिकोणबाट तात्विक फरक देखिन्नन् । पूर्वमाओवादीको त के कुरा गर्नु र, पूर्वएमालेको जन्मसमेत हत्या–हिंसाबाट भएको थियो । त्यस्ता शक्तिको मिलनबाट बनेको वर्तमान सरकारका अधिकांश दिन एकपछि अर्को बलात्कार, हत्या, अपहरण, सुनतस्करी, करमा बढोत्तरीलगायत अनेक विसङ्गतिका साथ गुज्रँदै छ । पचास वर्ष शासन गरी देशलाई समृद्ध तुल्याउने दाबी गरेर सत्तामा पुगेको कम्युनिस्ट सरकारका लागि यो अति दुःखद् सन्दर्भ हो ।

सङ्घीयता कार्यान्वयनको मेसो खोलिदिएर नेपाली काङ्ग्रेस सत्ताबाट बाहिरिएको छ । तथापि यो समय काङ्ग्रेसका लागि अनुकूल र उर्वर बन्दै गएको अनुभूति गरिँदै छ । यो अनुकूल र उर्वर राजनीतिक, सामाजिक एवम् धार्मिक परिस्थितिलाई उपयोग गर्न सके काङ्ग्रेसले आफूलाई जनताको नजरमा थप सशक्त दलका रूपमा उभ्याउन सक्छ । यदि अवसर चिनेर कदम चाल्न सकेन भनेचाहिँ फेरि पनि ‘किन चाउरिस् मरिच आफ्नै रागले’ भन्ने उखान चरितार्थ हुनुबाहेक बाँकी केही रहन्न ।

वर्तमान सत्तारुढ पार्टीहरू प्रतिपक्षमा रहँदा कति असहिष्णु र अधीर थिए भन्ने कुरा कोट्याइरहनै नपर्ला । प्रजातन्त्रको पुनस्र्थापनापछिको पहिलो जननिर्वाचित सरकारलाई कर्मचारी उचालेर सत्ताच्युत गराउने असहिष्णुता र अधैर्यता यिनले कति पराकाष्टामा पुऱ्याएका थिए भन्ने पनि घामजस्तै छर्लङ्गै छ । तैपनि सहिष्णुता र लोकतान्त्रिक आचरणअनुरूप काङ्ग्रेस अघि बढिरहेको अवस्थामा समेत वर्तमान सरकारले एउटा पनि जनमुखी कार्यक्रम ल्याउन नसक्दा र आफूले गरेका वाचामा चुक्दै गर्दा यस सरकारको लोकप्रियता दिन–प्रतिदिन खस्कँदै गएको यथार्थ हो ।

यही कारणले प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका अगाडि अवसरैअवसरको चाङ थुप्रिएर रहेको छ । यस्तो अवसरमा नेपाली काङ्ग्रेसले बाटो बिराएर हिँड्ने प्रयत्न गऱ्यो भने त्योभन्दा अर्को कुनै विडम्बना हुने छैन । नेपाली काङ्ग्रेस कमजोर भएर केही हुँदैन, तर नेपाली काङ्ग्रेससँग लोकतन्त्रको सर्वमान्य सिद्धान्तको पर्यायवाची नै भएकोले काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र धरापमा पर्ने निश्चित छ । यसर्थ लोकतन्त्रको सुदृढीकरण र स्थायित्वको लागि नेपाली काङ्ग्रेसले वर्तमान राजनीतिक, सामाजिक एवम् धार्मिक परिदृश्यलाई गम्भीर रूपले अध्ययन विश्लेषण गर्दै पार्टीभित्रको आन्तरिक मनोमालिन्यलाई यथाशीघ्र समाधान गर्नुपर्छ । अनि मात्र एक मन भएको पार्टी नेपाली काङ्ग्रेसले सम्भावित लोकतन्त्रमाथिको खतरालाई सहजै टार्न सक्छ ।

हरेक इस्युमा सरकार आलोचित हुँदै गएको अवस्थालाई काङ्ग्रेसले अवसरका रूपमा लिई जनतामा आफ्नो पकड थप मजबुत तुल्याउन पछि पर्नुहुँदैन । महँगो बजार भाउ, अस्वाभाविक करवृद्धि, शान्तिसुरक्षा आदि क्षेत्रमा सरकार पूर्ण रूपले असफल भएको परिवेशमा कञ्चनपुरको बलात्कार र हत्या प्रकरणपछि सरकारको अनुहार र नियत नराम्रोसँग उदाङ्गिएको छ ।

तर, अहिले नेपाली काङ्ग्रेसभित्रको आन्तरिक मनमुटाव र पार्टी सत्ता हत्याउने चलखेल भनी जो हल्ला बाहिर आएको छ, यो स्वाभाविक छैन । पार्टीको १४औँ अधिवेशन अझै लगभग दुईवर्षेजस्तो छ, तर पार्टीलाई गति दिनुको साटो संस्थापन समूहले हलो भड्काउने काम गरेको प्रतीत हुन्छ । पार्टी सङ्गठनलाई गतिशील बनाउँदै अघि बढ्नुपर्ने बेलामा अझै पनि भागबन्डाको किचलोले न त पार्टीका विभागहरू बनेका छन् न अनुशासन समिति, कार्यसम्पादन समिति बनाएर काङ्ग्रेसलाई व्यवस्थित, मर्यादित अनि अनुशासित बनाउनै दिएका छन्– संस्थापनइतर समूहले । सरकारका गल्ती जनमानसमा लगेर पार्टीको साख उठाउने आफ्नाअगाडि यति धेरै अवसरका चाङ हुँदाहुँदै आपसी मतभेत र पार्टी सत्ता हत्याउने तीव्र आकाङ्क्षाले ‘न रहे बाँस न बजे बाँसुरी’ भयो भने को जिम्मेवार हुने ? भोलिका पुस्तालाई रसिलो, भरिलो र चुस्तदुरुस्त पार्टी हस्तान्तरण गर्ने कि रित्तो काङ्ग्रेस ? यसर्थ पार्टी सत्ता–कब्जा शैलीले समग्र पार्टीको हित गर्न सक्दैन ।

तीतो यथार्थ त यो छ कि काङ्ग्रेसमा कथित ६०–४० भागबन्डाको मुद्दाले अहिले पनि बेला–बेला नराम्रोसँग शिर उठाउने गर्छ । उहिल्यै पार्टी फुटेर पुनः जुटेको बेला तत्काल एकीकरणका लागि अपनाइएको फर्मुलालाई अहिलेसम्म भाइ–भाइको अंशबन्डाजत्तिकै गरेर खोचे थाप्ने विषय बनाइनु दुर्भाग्यपूर्ण छ । सधैँ नचाहिने कुरामा रडाको मच्चाएर गनगन र कचकच गर्दा सङ्गठन जीर्ण वा कमजोर हुँदै गएको अवस्थालाई मनन गरेर वर्तमान अवस्थामा पार्टीका सामु थुप्रिएका अवसरहरूको उपयोग गर्नेतर्फ एकजुट भएर लागिपर्नु बुद्धिमानी हुनेछ । भागबन्डाको राजनीति र असन्तुष्ट पक्षको बखेडाले पार्टीलाई धेरै अलमल्याइसक्यो, अब अलमलमा रहनुहुँदैन, अवसरको राजनीतिक लाभ उठाउन पछि पर्नै हुन्न ।

हातमा आएको अवसर गुमाएर पार्टीलाई उँधो धकेल्नेलाई अबको पुस्ताले चिन्नुपर्छ, काङ्ग्रेसका कार्यकर्ताले गम्भीरतापूर्वक सोच्ने बेला आएको छ । एकातिर नेकपा (नेकपा) को दुईतिहाइ बहुमतको सरकार दिन–प्रतिदिन अलोकप्रिय बन्दै जाने, अर्कोतिर प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस दिन–प्रतिदिन आन्तरिक कलहमा फस्दै जाने हो भने अब नेपाली जनताले विकल्प खोजे हुन्छ । काङ्ग्रेस अलमलको जडी कारण वास्तवमा खोज्न ढिलै भइसकेको छ । काङ्ग्रेस कुनै परिवारविशेषको बपौती होइन, सारा नेपाली र नेपालकै साझा पार्टी हो । वंशवाद वा वंशवादको आड र भरोसामा नेताहरूले नेतृत्व हत्याउन सकुँला भन्ने भ्रम नपाले हुन्छ । गुटगत रूपमा रुमलिएर यथार्थतालाई आँखा चिम्लिन लागे भने उदयीमान लोकप्रिय भनिएका नेताहरूकै समेत भविष्य धरापमा नपर्ला भन्न सकिन्न ।

यसर्थ, सरकारले बाटो बिराएर जनताको हृदय बिझाइरहेको वर्तमान मौकाको लाभ उठाउन पार्टीपङ्क्ति एक हुनैपर्छ । हरेक इस्युमा सरकार आलोचित हुँदै गएको अवस्थालाई काङ्ग्रेसले अवसरका रूपमा लिई जनतामा आफ्नो पकड थप मजबुत तुल्याउन पछि पर्नुहुँदैन । महँगो बजार भाउ, अस्वाभाविक करवृद्धि, शान्तिसुरक्षा आदि क्षेत्रमा सरकार पूर्ण रूपले असफल भएको परिवेशमा कञ्चनपुरको बलात्कार र हत्या प्रकरणपछि सरकारको अनुहार र नियत नराम्रोसँग उदाङ्गिएको छ । यो बुझेर नेपाली काङ्ग्रेसले हातमा आएको अवसरका चाङलाई अर्थपूर्ण किसिमबाट उपयोग गर्न सक्नुपर्छ । यो सुनौलो अवसर गुमायो भने काङ्ग्रेसजस्तो ऐतिहासिक प्रजातन्त्रको पहरेदार पार्टीको समेत विकल्प खोज्ने समय आएछ भनी भन्नैपर्ने हुन्छ ।घटना र विचारबाट साभार 

Facebook Comments
Show More

Related Articles