बिबिधसमाचारसमाज

खुर्सिद हत्या रहस्यमयी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

इनरुवा ५ भदौ । सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित रैयान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीको पहिचान पछि गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ ।

स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला बिहीबार दिउँसो ११ बजेर १५ मिनेटमा सोही दिशाबाट आएको अज्ञात समूहले पहिचान गरेर खुर्शिदलाई गोली प्रहार गरेका थिए । सो समूहमा चार जना रहेको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।

सञ्चालक समितिको बैठक समापन भएसँगै साथी अमीन अन्सारीको मोटरसाइकलमा गइरहेको बेला नम्बर प्लेट नभएको सोही दिशाबाट सेतो रंगको अपाचे र नीलो रङ्गको पल्सर मोटरसाइकलमा आएका चार जनाको समूहले दुवै तर्फबाट छेकेको र खुर्शीद को हो ? भनी सोध्दै खुर्शिदले म हुँ भनेपछि उहाँको टाउको र छातीमा गोली प्रहार गरेको हरिनगर गाउँपालिकाका न्यायिक समितिका सदस्य अलाउद्दिन अन्सारीले बताउनु भयो ।

गोली प्रहार गरेर भागिरहेका अज्ञात व्यक्तिलाई घुस्की प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार शिवलाल पौडेलले रोक्न खोज्दा उनलाई समेत खुट्टामा गोली प्रहार गरेर एक सयभन्दा बढीको स्पिडमा मोटरसाइकल लिएर भारततर्फ भागेको प्रत्यक्षदर्शी लुकमान अन्सारीको भनाई छ । सुटरहरू त्यहाँबाट १५ किलोमिटर दक्षिण भारत तर्फ लागेका थिए । घाइते भएका प्रहरी हवलदार पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेतीले बताउनु भयो ।

यता घटनाको विरोधमा स्थानीयवासीले टायर बालेर प्रदर्शन गर्दै भुटाहाबजार दिनभर बन्द गराए । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीको भनाई छ । उहाँले भारतको प्रहरी उपरीक्षकसँग कुराकानी भएको जानकारी दिँदै एउटा शंकास्पद मोटरसाइकलको नम्बर आएको र यस विषयमा अनुसन्धान भइरहेको बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles