बिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

समाजसेवामा अब्बल प्रदीप

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
पथरीशनिश्चरे २३ भदौ । न आगामी चुनाबमा पराजित भइने डर । न त भ्रष्टाचार गरी कमाएको कालो धनलाई सेतो बनाएर छर्दै सामाजिक सम्मान बटुल्ने दाउ । आफूले युग सापेक्ष सरकारी शिक्षा नपाउँदा स्वदेशमा काम नपाएको पीडाबाट उहाँको मन मष्तिष्क सधैं कुडिन्छ । त्यसैले मोरङको पथरीशनिश्चरे १ का प्रदीपकुमार राई यतिबेला गाउँका सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर उठानमा अर्जुनदृष्टि लगाएर काम गरिरहनु भएको छ ।
चुनाब आएपछि यो गर्छु र त्यो गर्छु भन्दै घोषणा पत्र सहित आश्वासनको पुलिन्दा बोकेर हिड्ने दलीय नेताका लागि राई मार्गदर्शक बन्नुभएको छ । ५ वर्ष अघि नेपाल पत्रकार महासङ्घ मोरङको सम्पर्क कार्यलय पथरीशनिश्चरेलाई ३० हजार मुल्य बरावरको सोलार बत्ती प्रदान गरेपछि राईलाई समाज सेवाको भोक जागेर आयो । उहाँले भन्नुभयो–‘पत्रकार महासङ्घलाई सहयोग गरेपछि रेडियो सिम्रिकको स्तर विकासका लागि २५ हजार रुपियाँ बरावरको सहयोग गरें ।
स्वदेशमा जागिरको सम्भावना नदेखेपछि राई २०५२ सालमा पाखुरा भरि बल र मष्तिष्क भरि बुद्धि बोकी पैसा कमाउने सपना लिएर हङ्कङ जानुभयो ।भरखर जुँघाको रेखी बस्दै गरेको अवस्थामा हङ्कङ पुग्नु भएका राई ३ वर्ष हङकङमै रमाउनु भयो । ३ वर्ष बसेर फर्किनु भएका राई त्यसयता रोजगारका क्रममा युएई,बहराइन, दुवई र मकाउ पुग्नुभयो । पछिल्लो १० वर्ष उहाँले मकाउमा बिताउनु् भयो । मकाउ पुगेको ५ वर्ष पछि उहाँले आफ्नो कर्मभूमि मोरङको पथरीशनिश्चरेका सरकारी विद्यालयको शैक्षिक स्तर वृद्धि गर्ने कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।उहाँ अहिले नगरका २८ वटै विद्यालयमा ई–लाइव्रेरी,कम्प्युटर शिक्षा र छात्रवृतिका लागि कोष निर्माणको अभियानमा हुनुहुन्छ । राईले हाल सम्म सुनाखरी माविलाई ५ थान कम्प्युटर, चन्द्रकिरातेश्वर माविलाई १ लाख १ हजार ५ सय ९ रुपियाँको अक्षय कोष हस्तान्तरण गरिसक्नु भएको छ । उहाँले सुनाखरी माविमा १५ लाख २३ हजार रुपियाँको अक्षय कोष समेत निर्माण गरिदिनु भएको छ ।
यति मात्र होइन, प्रदीपले पथरी बहुमुखी क्याम्पसलाई इ लाइव्रेरीका लागि ५ थान कम्प्युटर प्रदान गरिसक्नु भएको छ । केही दिन अघि मात्र राईले पथरीशनिश्चरे कै सिंहबाहिनी माविको वाल बिकास केन्द्रलाई एउटा एलइडी टिभी(४०इन्च) प्रदान गर्नुभयो । सामूदायिक विद्यालयमा गरीव दुखीका छोरा छोरीले पनि श्रब्य दृष्यबाट शिक्षा लिन सकुन भनेर टेलिभिजन प्रदान गरेको राईको भनाई छ । उहाँले श्रब्य दृष्य कक्षाका लागि आवश्यक शैक्षिक सामग्री समेत प्रदान गर्नुभयो ।
‘अभियन्ताहरूको अभियान शिक्षादान महादान’भन्ने नाराका साथ राई शैक्षिक सुधार अभियानमा हुनुहुन्छ । उहाँले भन्नुभयो – नगरका २८ वटै सामूदायिक विद्यालयमा हामी अभियान लिएर जान्छौं । उहाँले ५ वषै भित्र सबै विद्यालयलाई नीजि विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
पछिल्लो पटक १० वर्ष मकाउ बसेर स्वदेश फर्किनु भएका राई ४० वर्ष कटेका कारण अब बिदेश नजाने बताउनु हुन्छ । मकाउमा बसेका नेपाली मात्र होइन, गैर नेपालीहरू पनि राईको अभियानमा सहयोगी बन्ने गरेका छन् ।
राईका दुई जना भाईहरू पनि मकाउ मै हुनुहुन्छ । दाजुको अभियानमा भाइहरूले समेत भरपुर साथ दिइरहेका छन् ।
लामो समय विदेश बसेर परिवारका लागि समय दिन आएका प्रदीप अझै पनि घुम्न रमाइलो गर्न भन्दा सामाजिक काम मै समय दिन रुचाउनुु हुन्छ । प्रदीपकी पत्नी आशाले भन्नुभयो–‘ ४० कटेसी रमाउला भन्ने गीत अझै कार्यान्वयन भएको छैन् । तर पनि श्रीमानको सामाजिक काम प्रति आशाको साथ सहयोग प्रदीपले पाइरहनु भएको छ ।प्रदीपको सामूदायिक शिक्षा सुधारको अभियानमा स्थानीयको पनि ठूलो सहयोग छ । तर, उहाँ पुराण,अनुष्ठान, चिट्ठा,जस्ता क्षेत्रमा सहयोग गर्न त्यति धेरै अघि सर्नुहुन्न । उहाँले भन्नुभयो–‘प्रतिफल समाजले प्राप्त गर्ने क्षेत्रमा सामाजिक सेवा गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
प्रदीपले जस्तै दलका नेताहरूले पनि नगद मै काम गरे शैक्षिक स्तर वृद्धिका लागि लामो समय कुर्नु पर्ने थिएन कि ?

Facebook Comments
Show More

Related Articles