साहित्य

धरानका सौर्य सडक बत्ती बेकामे, मर्मत गर्ने कम्पनी टेर्दैन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

धरानको मुख्य सडकमा रहेका सौर्यबत्तीको लागत रकम भुक्तानी नपाएको भन्दै जडान गर्ने कम्पनीले मर्मत गर्न अटेर गरेको छ ।
२ वर्ष अघि धरानलाई झिलिमिली बनाउने र सडकबत्तीबाट भइरहेको विद्युत भार घटाउने भन्दै जडान गरिएको सौर्यबत्ती बिग्रिए पनि सम्बन्धित निकायले चासो दिएको छैन । धरान–१ स्थित लक्ष्मीचोकदेखि धरान–८ सिद्धकालीचोकसम्म मुख्य सडक कोशी राजमार्गमा जडान गरिएका ६६ ओटा सौर्यबत्ती धरान उपमहानगर र स्थानीयको सहभागितामा जडान भएको हो । ती बत्ती आधाभन्दा बढी काम नलाग्ने अवस्थामा पुगेका छन् । सौर्य सडक बत्तीहरु नबल्ने, जुनकिरी झैं पिलिकपिलिक गर्ने र १ घण्टा पनि नबल्दै निभ्ने गरेका छन् ।

२ वर्षअघि विराटनगरस्थित कृष्ण ग्रिल एण्ड इन्जिनियरिङ वर्कस प्रालिले धरान उपमहानगरपालिकासँग ठेक्का सम्झौता गर्दै जडान गरेका बत्तीहरु ५ वर्षसम्म मर्मत गर्नुपर्ने शर्त थियो । प्रालिले प्रति एक पोल सडक सौर्यबत्ती बराबर ९० हजार भुक्तानी गर्ने सहमति भएको थियो । प्रति पोल ९० हजार हुँदा ६६ ओटा पोलको जम्मा ५९ लाख ४० हजार रकम उपमहागरपालिकाले भुक्तानी दिनुपर्ने देखिन्छ । जसमध्ये उपमहानगरपालिकाले ९० प्रतिशत र उपभोक्ताले १० प्रतिशत लागत व्यहोर्नुपर्ने थियो । सडकमा सीमा जोडिएका जग्गाधनी लाभग्राहीले उक्त १० प्रतिशत रकम जम्मा गर्ने भनिएता पनि सबै जग्गाधनीले रकम नतिर्दा प्रालिलाई सबै रकम भुक्तानी दिन नसकिएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले बताए । सडक सौर्यबत्ती उपभोक्ता समितिका अध्यक्ष केशव श्रेष्ठका अनुसार २ सय ३ जना लाभग्राहीको तथ्याङ्क रहेको र जनसहभागितामार्फत् प्रति उपभोक्ता ३ हजारका दरले रकम उठाउने सहमती भएपनि करिब २ लाख ५० हजार रुपैयाँ मात्र उपभोक्ताबाट उठेको र सो रकम प्रालिलाई भुक्तानी गरिसकिएको छ ।जम्मा रकम ५९ लाख ४० हजारमध्ये प्रालिलाई अब ३ लाख ४४ हजार भुक्तान गर्न बाँकी छ । यही बाँकी रकमलाई निहुँ बनाएर प्रालिले सडक बत्ति मर्मत नगरी अटेर गरेर बसेको छ । प्रालिका सञ्चालक सञ्जय श्रेष्ठले पटकपटक उपमहानगरपालिकालाई भुक्तानीका लागि ताकेता गर्दा पनि भुक्तानी नभएको बताए । ‘नगद भुक्तानी नगरी कसरी काम गर्न सकिन्छ ।’ श्रेष्ठले भने ।

पाँच वर्षको वारेन्टीजस्तै गरी मर्मत गर्ने जिम्मा लिएको कम्पनीले मर्मतमा अटेर गर्दासमेत उपमहानगरपालिका निरिह देखिएको छ । उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठका अनुसार पटकपटक सुझाउँदा समेत ठेकेदार कम्पनीले सडकबत्ती मर्मत नगरिदिएको बताए ।
सौर्य सडकबत्ती बिग्रिएर महिनौं बित्दासमेत मर्मत गर्ने तर्फ धरान उपमहानगरपलिकाको ध्यान पुग्न सकेको छैन । धरान उपमहानगरपालिकाका इलेक्ट्रिकल इन्जिनियर प्रकाश साहले भने ‘मर्मतका गरिदिन भनेका छौं, प्रालिले अटेर गर्छ, अब चिट्ठी काट्ने तयारी गर्दैछौं ।’महिनौं दिनसम्म पनि उपमहानगरपा लिका भर्खर चिट्ठी काट्ने तयारीमा रहेको बताउँछ । प्रालिले पहिलो चरणमा मेनरोडमा प्रति पोल ९० हजारका दरले ६६ वटा सोलार बत्ती जडान गरेको थियो भने दोस्रो चरणमा धरानको १० नं. वडामा ४३ ओटा, १४ नं. वडामा १० ओटा, ८ नं. वडामा ८ ओटा, ३ नं. वडामा ६ ओटा र विभिन्न स्थानमा ७ ओटा सौर्यबत्ती जडान गरिसकेको छ । दोस्रो चरणमा जडान गरेका बत्तीसमेत बिग्रिरहेका छन् ।प्रालिले पहिलो चरणमा जडान गरेको सौर्यबत्तीहरु प्रतिपोल ९० हजारका दरले ठेक्का सम्झौता गरी जडान गरेको हो भने दोस्रो चरणमा जडान गरेको ३० ओटा प्रतिपोल ८४ हजार र ४४ ओटा प्रतिपोल ६८ हजारका दरले जडान गरेको धरान उपमहानगरपालिकाका योजना अधिकृत किरण भुजेलले जनाएका छन् । विद्युत भार घटाउनका लागि भन्दै उपमहानगरपालिकाले सौर्यबत्ती जडान गरेको भएपनि भार उचित व्यवस्थापन हुन नसक्दा थप भार बढेको उपमहानगरपालिकाका एक कर्मचारीले बताए । ब्लस्त खबर बाट

Facebook Comments
Show More

Related Articles