अर्थकृषिबिबिधसमाचार

निगुरोसँगको निरर्भरता बढ्दै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
भाउन्ने (मोरङ) ३२ असार । न खनजोत गर्नु पर्ने, नत मल,जल र बल नै चाहिने ,रोप्नु पनि नपर्ने गोडमेल पनि नचाहिने ,तर पनि कमजोर आर्थिक अवस्था भएका धेरैको सहारा बनेको छ ,जंगली साग निगुरोको ब्यापार । निगुरोको ब्यापारबाट मध्य मोरङको पूर्व पश्चिम राजमार्ग आसपासका एक हजार ५ सय परिवारले घर खर्च चलाएको निगुरो सङ्कलन गरेर बिक्री गर्ने ठूला ब्यापारीहरू बताउँछन् ।
मोरङको कानेपोखरी– ७ की ४२ वर्षीया झुमा भट्टराईको दैनिकी नै निगुरो ब्यापारमा बित्ने गरेको छ । श्रीमानले कान्छी लिएर गाउँबाट निस्केपछि सासु ससुरा मात्र होइन, ३ छोरा र २ छोरीले पनि उहाँलाई माया मारे ।अहिले झुमाको बाँच्ने सहारा नै निगुरो भएको छ । बिहान झिस्मिसै खाजा बोकेर जंगल पस्ने झुमा दैनिक साडे ४ सय देखि ५ सय सम्मको निगुरो बेच्नु हुन्छ । उहाँले भन्नुभयो –१२ वजे सम्ममा २५ ÷३० मुठा निगुरो संकलन गर्छु । आफै गाउँ डुलेर बेच्दा ६ सयको निगुरो बेच्ने झुमा होलसेल ब्यापारीलाई दिँदा ४ सय ५० मात्र हात लाग्ने बताउँनु हुन्छ ।
झुमा मात्र होइन, विद्यालय विदा भएपछि खाजा खाने पैसा निकाल्न निगुरोको खोजिमा जंगल जाने बालवालिकाको संख्या पनि उत्तिकै छ । कानेपोखरी–७ को जनकल्याण माविमा कक्षा ९ मा अध्ययनरत प्रश्ना लिम्बू,नुमा लिम्बू,सुमन ढुङ्गाना र मदन लिम्बू पहिलो त्रैमासिक परीक्षा सकिएको भोलिपल्ट देखि निगुरो खोज्न जङ्गल जान थाल्नु भएको छ । कानेपोखरी–लेटाङ सडक किनारमा निगुरोको विस्कुन लगाएर बसिरहनु भएकी प्रश्नाले भन्नुभयो –दैनिक ३०÷३५ मुठा निगुरो टिप्छु । प्रति मुठा १५ रुपियाँले बिक्री गर्दै आउनु भएकी प्रश्नाले दैनिक ४ सय रुपियाँ कमाई भइरहेको बताउनु भयो । प्रश्नाका साथीहरू नुमा , मदन र सुमन पनि सरदर ४ सय रुपियाँ कमाई हुने बताउनु भयो ।
आफन्त र छिमेकीहरूसँग आएका अधिकांश बाल बालिका बिहान भरि जंगलमा भेटिन्छन् ।सानो डोकोमा अलि कति खाजा र पिउने पानी बोकेर बिहान साडे ५ बजे तिर निस्किएका उनीहरू मध्याह्न खाना खान घर पुग्ने गर्छन् ।
निगुरो टिप्ने बाल बालिका र तन्नेरी मात्र होइन वृद्धहरू पनि उत्तिकै भेटिन्छन् जंगलमा । सफा मौसम भएको दिन जंगलमा १५ सय मान्छे निगुरोको खोजिमा हुने गरेको स्थानीय निगुरो संकलक नवीन दाहाल बताउनु हुन्छ । ६ वर्ष देखि निगुरो संकलन गरेर ठेकदारलाई बिक्री गरिरहनु भएका दाहालले भन्नुभयो–दैनिक १५ हजार मुठा संकलन हुन्छ । संकलित सबै निगुरो काठमाडौं र पश्चिमका शहरमा जाने गर्छ ।संकलकहरू सँग प्रति मुठा १५ रुपैयाँका दरले किनेको निगुरो स्थानीय ठेकदारहरूले नै काठमाडौंको पाटीलाई २ को तीन पारेर बेच्छन् । ठेकदारले यातायात खर्च र कर जोडेर तरकारी ब्यापारीको हातमा पु¥याउँछन् ।
जिरिखिम्ती देखि लक्ष्मीमार्ग सम्मको झण्डै ८ किलोमिटर क्षेत्रबाट मात्र दैनिक १ लाख रुपैयाँको निगुरो बाहिर जाने गरेको काठमाडौं पु¥याउने ठेकदार बलराम राईले बताउनु भयो । राई अनुसार महिनामा २० दिन मात्र निगुरो जाँदा पनि सरदर २० लाख रुपैयाँको निगुरो काठमाडौं जाने गर्छ । राई जस्ता ठेकदार ३ जना रहेको उहाँको भनाई छ । बेलैमा पानी पर्दा चैत देखि भदौ सम्म निगुरोको ब्यापार हुनेगर्छ । यो वर्ष चैत देखि नै पानी पर्न थालेकोले जंगलमा प्रसस्त निगुरो पलाएको छ ।

Facebook Comments
Show More

Related Articles