पत्रपत्रिकाबाटबिबिधसमाचार

फेरि वामदेवलाई लडाउने खेल

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं २९ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता र पार्टीमा पकडका कारण उनलाई विस्थापित गर्ने खेल शुरु नभए पनि सत्तारुढ दलभित्र केपीपछिको प्रधानमन्त्री र अध्यक्ष बन्ने विषय पेचिलो बन्दै गएको छ । अहिले ओलीपछिको प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड बन्ने भन्ने उच्च तहमा समझदारी बनेको त छ, तर प्रचण्डमा राज्यसत्ता र पार्टी सत्ताको वागडोर सजिलै जानेमा भने शङ्का उत्पन्न हुन थालेको छ ।

पुरानो पुस्ताका नेताहरूमध्ये माधवकुमार नेपाललाई केपीको ‘सक्सेसर’ र प्रचण्डको मूल प्रतिस्पर्धी ठानिन्छ । माधवसँगको प्रतिस्पर्धामा आफू रक्षात्मक हुन सक्ने ठानेका प्रचण्डले वरिष्ठ नेता वामदेव गौतमलाई साथमा राखेर खेल खेल्ने चाल चलेको जानकारीमा आएको छ । त्यसनिम्ति वामदेव गौतमलाई संसद्भित्र प्रवेश गराउने योजना प्रचण्डले बनाएका छन् ।

प्रचण्डनिकट सूत्रले जनाएअनुसार कुनै निर्वाचित सांसदलाई राजीनामा गराएर रिक्त स्थानमा वामदेवलाई चुनाव लडाउने योजना प्रचण्डको छ । यतिबेला प्रचण्ड र वामदेव दुवैले सुरक्षित निर्वाचन क्षेत्र खोजी गरिरहेको बुझिएको छ । ज्ञातव्य छ, वामदेव गौतम आफूलाई केपी ओलीले चुनावमा पराजित गरिदिएको ठान्दछन् ।

तर, त्यसबारे बोल्दा केपीले झनै अप्ठ्यारोमा पार्न सक्ने भयले मात्र उनी बोलिरहेका छैनन् । पूर्वएमालेले जितेको निर्वाचन क्षेत्रबाट चुनाव लड्दा जोखिम हुने भएकोले पूर्वमाओवादी विजयी बनेको निर्वाचन क्षेत्रमा चुनाव लड्नेबारे विचार–विमर्श भइरहेको बुझिएको छ ।

गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित हुनेबित्तिकै ललितपुरबाट चुनाव लड्ने विषयमा प्रचण्ड र गौतमबीच छलफल भएको थियो । नवराज सिलवाललाई राजीनामा गर्न लगाएर त्यहाँ वामदेव चुनाव लड्ने र सिलवाललाई अन्य कुनै उच्च तहको जिम्मेवारी दिने प्रस्ताव प्रचण्डको थियो । तर, वामदेवले आफ्ना शुभेच्छुहरूबीच यस विषयमा छलफल गर्दा उक्त क्षेत्रमा नवराज सिलवालबाहेक अरू कसैले जित हासिल गर्न नसक्ने र त्यहाँ चुनाव लड्नु जोखिमपूर्ण हुने निष्कर्ष निस्किएपछि वामदेव पछि हटेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्डका सर्वाधिक विश्वासपात्रका रूपमा वामदेव गौतम देखापरेका छन् । वामदेवलाई लिएर प्रचण्डले के–कस्तो खेल खेल्न लागेका हुन् सोको जानकारीका लागि केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।

Facebook Comments
Show More

Related Articles