समाचार

रेमिट्यान्सले उक्सिएको दलित बस्ती

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

तेह्रथुम । हामी नेपालीहरु भन्छौँ, ‘स्वदेशमा नै रोजगारी खोज्नुपर्छ, स्वदेशमा नै मिहिनेत गरेर खानुपर्छ, विदेश गएर पसिना बगाउनु हुँदैन, देशमा नै परिश्रम गर्नुपर्छ ।’ तर तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाका केही युवाले वैदेशिक रोजगारीको आम्दानीले आफ्नो जीवन स्तर राम्ररी उकासेका छन् ।अशिक्षा र अभावले गाँजिएको मेन्छ्यायेम गाउँपालिका–४ मोराहाङ्गका युवाहरुले विदेशमा गरेको परिश्रमका कारण अर्काको बनीबुतो गरेर, अन्नमा लुगा सिएर जीविका गर्ने परिवार अहिले पूर्णरुपमा आत्मनिर्भर बनिसकेका छन् ।
भरपर्दो आयको स्रोत बनेको वैदेशिक रोजगारी सो गाउँमा फलिफाप भएको छ । विशेष खाडी मुलुकहरु कतार, साउदी अरब, कुवेत, दुवई र मलेसियामा रोजगारीमा गएका गाउँका प्राय सबै युवाहरुले पठाएको विदेशी पैसाले कतिपय सुकुम्बासी परिवारले घरबारी नै जोडिसकेका छन् । ‘गाउँमा बस्दा अर्काको भारी बोकेर, बनी गरेर, बाली घर धाएर दुई छाक टार्न समस्या पथ्र्याे तर अहिले अर्काको ऋण काढेर गएका छोराहरुले ऋण पनि तिरिसके । घरबारी पनि जोड्न थालिसके ।’ फलैचा गाउँका कर्ण नेपालीले भने ।उनका छोरा चन्द्र नेपालीले विदेश गएर कमाएको पैसाले इटहरीमा घडेरी किनेका छन् भने गाउँमा नै घर जग्गा किनेर बसेका छन् । उनका दुई जना बच्चाहरू त्यहाँको बोर्डिङ स्कुलमा पढिरहेका छन् । विगत दश वर्षदेखि वैदेशिक रोजगारीका लागि जाने क्रम शुरु भएको सो गाँउका करिव ५० जना युवा विदेशिएका छन् ।‘अब हाम्रा गाउँमा दाजुभाई पनि छैनन्, सबै विदेश पसे, गाउँघरमा खेतबारी जोत्ने, विकासका काम गर्ने युवा छैनन्, दाजुभाइले पठाएको पैसाले घर खेती चल्दैछ ।’ स्थानीय सीता नेपालीले भनिन् । गाउँघरमा बसेर वर्ष दिन दुःख गर्दा पनि पेट भर्न समस्या पर्ने गाउँका युवाको पेशा नै थियो भारी बोक्ने, अरू कहाँ गएर नोकरी गर्ने, खेताला साटासाट गर्ने, बनीबुतो गरेर बिहान बेलुकाको छाक टार्ने भन्दा राम्रो अवसर यहाँका युवाले पाउन सकेका थिएनन् । अहिले विदेशिएका युवाको कमाइले गाउँमा आमुल परिवर्तन भएको छ । आफ्नो ५० वर्षको लामो जीवनमा चर्काे ब्याज दरमा ऋण काढेर, अन्नमा (बालीमा) कपडा सिलाएर खाने गरेका हर्क नेपाली अहिले छोराले पठाएको पैसाले आफ्नै घरबारी जोडिसकेका छन् । ‘सधैँ ऋणी भएर बाँचेको थिएँ तर अहिले सन्तुष्ट छु,’ नेपाली भन्छन् । उनका छोरा पाँच वर्षसम्म कतारमा काम गरेर घर फर्किसकेका छन् ।

नजिकका गाउँमा भरिया, ज्यामी र अन्नमा सिलाई गर्ने दमाईका रूपमा चिनिने झलैँचा, कुलामुनी र खोलापारीका युवाहरू अहिले इमान्दार र परिश्रमीका रुपमा चिनिन्छन् । अहिले उनीहरू विदेशमा उत्तिकै परिश्रमका साथ पसिना बगाइरहेका छन् । गाउँघर युवा विहीन छन् । ‘यहाँ त अब केटाकेटी र बूढाबूढी मात्र छन् घरखेती गर्न पनि युवाहरु पाइँदैनन्, भएका खेतबारी पनि बाँझिन थालेका छन् ।’ स्थानीयवासी रामप्रसाद प्याकुरे भन्छन् । यी गाउँका युवाहरु प्रत्येक वर्ष विदेश जाने र आउने क्रम जारी रहेको छ । पैसाको अभावमा पढ्न नजाने केटाकेटी विद्यालय जान थालेको लोकमान नेपाली बताउँछन् । गाउँका अशिक्षित युवा विदेश गएपछि चेतनाको स्तर बढेको छ । उनीहरू सबैसँग स्क्रिनटच मोबाइल छ । फेसबुक खोलेका छन् । फेसबुकबाटै घरमा रहेका भाइबहिनीलाई नियमित विद्यालय पठाउन र केहीले त सदरमुकाममा राखेर बोर्डिङ पढाउन जोड दिन थालेका छन् । घरघरमा डिसहोमबाट टेलिभिजन हेरेका छन् ।१ लाख १३ हजार जनस्ख्या भएका जिल्लामा दैनिक १२ देखि १५ जनाले राहदानी बनाउने गरेका छन् । जसमा महिलाको सङ्ख्या पनि दिनप्रतिदिन बढ्न थालेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । आर्थिक अवस्था कमजोर भएका युवा खाडी राष्ट्रमा जाने क्रम बढेको छ । युवाले दुःख कष्ट गरेर देशमा पैसा भित्राइरहेकाले सरकारले वैदेशिक रोजगारीलाई अझ व्यवस्थित र सुनिश्चित गरी गाउँमा पनि रोजगारीको अवसर सिर्जना गर्ने हो भने सयौँ गाउँलेले आफ्नो रुप फेर्न सक्ने स्थानीय समाजसेवी रघुनाथ गौतमले बताए ।

Facebook Comments
Show More

Related Articles