समाचार

मोरङका एक दर्जन स्थान बाढीको उच्च जोखिममा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

मोरङका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा रहेका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् ।

बर्खा लागिसकेकाले सम्भावित विपत्का बारेमा स्थानीय तहसँगको समन्वयमा रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले विशेष गरी अति जोखिममा परेका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गर्दैआएको छ । बक्राहा, रतुवा, लोहन्द्रा, चिसाङ, सिंगिया, केशलियालगायत ठूला नदीले वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पुर्याउने गरेको रेडक्रस जिल्ला सभापति सुबोधकुमार सिंहले जानकारी दिनुभयो । रेडक्रसले तयार पारेको सूचीअनुसार बक्राहाका कारण सो नदीका आसपासका बासिन्दा अति जोखिममा छन् ।

बक्राहाका कारण मिक्लाजुङ गाउँपालिका– ६ मधुमल्ला, उर्लाबारी नगरपालिका–१ मेचेडाँगी, रतुवामाई नगरपालिका– ५ गोविन्दपुर, ९ र १० को इटहरा, सुनवर्षी नगरपालिका – ६ गाविन्दपुर र ७ को बरडंगा, पथरीशनिश्चरे–५ हसन्दहका बस्ती बाढीको अति जोखिममा रहेको बताइएको छ ।यस्तै रतुवाका कारण रतुवामाई नगरपालिका– ८ र १० को इटहरा, ७ को सिजुवा, ३ को महादेवाका बस्ती बाढीको अति जोखिममा छन् । लोहन्द्रा नदीका कारण बेलवारी– ५ का मटियारी र धोकरधरका बस्ती पनि स्थलगत अध्ययनका क्रममा अति जोखिममा रहेको पाइएको रेडक्रस मोरङका वरिष्ठ अधिकृत कुमारप्रसाद निरौलाले बताउनुभयो । गडिया खोलाका कारण सोराभाग र केसलिया खोलाका कारण विराटनगर महानगरपालिका– १२ दरैयाबस्ती र ४ को इग्राही बाढीको अति जोखिममा छन् ।

रेडक्रसका अनुसार बाढीका कारण गत वर्ष मोरङमा १४ जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए । विभिन्न खोलामा आएको बाढीका कारण गत वर्ष जिल्लामा तीन हजार ५०० बढी घरपरिवार विस्थापन भएका थिए ।नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण तथा बाढीका कारण विस्थापित भएकाको उद्धार र उनीहरूको व्यवस्थापनका निमित्त गाउँसभाबाट बजेट विनियोजन भइसकेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताउनुभयो । जिल्लामा बक्राहा खोलाले सबैभन्दा बढी धनजनको क्षति पुर्याउँदै आएको छ । 

Facebook Comments
Show More

Related Articles