nirantarkhabarसमाचार

हात्तीले दैनिक सास्ती

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बाहुनडाँगी (झापा) — भारतसँग सिमाना जोडिएको झापाको बाहुनडाँगीमा वर्षायाम सुरु भएसँगै भारततिरबाट आउने जंगली हात्तीका कारण स्थानीयवासी आतंकित बन्ने गरेका छन् ।दुई सातायता दैनिक ५० देखि सय वटाको संख्यामा हात्ती आइरहेको छ । हात्तीले मकै बालीका साथै सर्वसाधारणका घरटहरा भत्काउने गरेको छ ।

खासगरी मकै र धान पाक्ने समयमा हात्तीले स्थानीयलाई दु:ख दिने गरेको छ । जिल्ला वन कार्यालय झापाका अधिकृत बोधराज सुवेदीले गएको दुई सातादेखि दैनिक हात्ती आउने गरेको र हात्तीको रैफाडो रोक्न स्थानीयवासी, वन कर्मचारी र सुरक्षाकर्मीले संयुक्त रूपमा पहल गरिरहेको बताए । ‘मकै पाक्ने बेलामा र धान काट्ने बेलामा हात्तीले बढी दु:ख दिने गरेको पाइयो’, वन अधिकृत सुवेदीले भने, ‘क्षति कम गराउन हामी लागिपरेका छौं ।’

आधा शताब्दीदेखि स्थानीयले हात्तीको ताडना सहदै आएका छन् । हात्ती आतंक कम गर्न दर्जनौं उपाय अपनाइसकिएको छ । दुई वर्ष अघिदेखि विद्युतीय तारबारबाट हात्ती छेक्ने काम भइरहेको छ । तर, यो प्रविधि पनि त्यति प्रभावकारी हुन छाडेको छ । ‘मेची किनारमा बसेर नधपाउने हो भने तारबार भत्काएर हन्जा भित्र छिर्न सक्छ’, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेतीले भने । उप्रेतीका अनुसार हात्ती आतंक सुरु भएदेखि स्थानीयवासी चैनसँग निधाउन पाएकै छैनन् । ‘सुत्यो भने हात्तीले सर्वस्व सक्ला भन्ने त्रास हुन्छ’, एक स्थानीयले भने, ‘क्षति हुन त दिनु भएन नि ।’ विगतमा हात्ती आतंक नियन्त्रणका लागि टुङ (पक्की मचान) निर्माण, मौरीपालन, हात्तीबार, सुरुङबार, विद्युतीय तारबारलगायत दर्जनौं उपाय पछ्याइएको थियो ।

तीन दिनअघि सुरक्षाकर्मीसहित मेचीनगरका प्रमुख विमल आचार्य हात्ती धपाउन बाहुनडाँगी पुगेका थिए । प्रमुख आचार्यले केही दिनयता हात्ती आतंक तीव्र रूपमा बढेको गुनासो आएपछि अवलोकनका लागि गएको बताए । उनले समयमै यसको रोकथाम गर्न सकिएन भए थप जटिल समस्या पैदा हुन सक्ने बताए । उनले जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरूले समेत हात्ती आतंकबारे चासो नदिएको आरोप लगाए ।

सीमापारि पश्चिम बंगालको सुकुना र टुक्रे वन क्षेत्रबाट साँझ पर्न नपाउँदै हात्ती आउने गरेको छ । भारतपट्टिबाट धपाउँदा हात्ती सोझै मेची तरेर नेपाल छिर्ने गरेको छ । हात्ती आउने खास समय जेठदेखि मंसिरसम्म हो । कात्तिक र मंसिर धान पाक्ने समय भएकाले त्यसबेला थेग्ने नसक्ने संख्यामा हात्तीको आगमन हुन्छ । ‘ती हात्ती एकैचोटी छिरे भने बाहुनडाँगीमा उत्पादित सबै मकैबाली स्वाहा हुन्छ’, स्थानीय शंकर लुइँटेल भन्छन् । 

Facebook Comments
Show More

Related Articles