समाचार

सामूदायिक वनमा ब्यापक अनियमितता, वन कर्मचारी रमिते मात्र

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

निरन्तर डेस्क, बेलबारी ।   पूर्वी मोरङका केही सामूदायिक वनमा वन पदाधिकारीहरूले जथाभावी सालका  ठाडा रुख काट्न थालेको समाचार प्राप्त भएको छ । जिल्ला बन कार्यालय विघटन हुन लागेको बेला बन कर्मचारीको प्रत्यक्ष सहयोगमा सामूदायिक वनका पदाधिकारीहरूले मन खुसी रुख ढाल्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् । पछिल्लो पटक पूर्वी मोरङका ग्रामीण सुधार सामूदायिक वन कानेपोखरी–७ र पशुपति सामूदायिक वन पथरीशनिश्चरे १० ले जिल्ला वनले दिएको कटान आदेश भन्दा बढी लकडी जङ्गलबाट ल्याएर घाट गद्दी गरेका छन् । बैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेको ग्रामीण सुधार सामूदायिक वन जिल्ला कै सबैभन्दा ठूलो सामूदायिक वन हो । ग्रामीण सुधारले अहिले धमाधम काठ कटान गर्दै घाटगद्दी गरिरहेको छ । तर उपभोक्ताको माग भन्दा बढी कटान आदेश ल्याएको ग्रामीण सुधारले आफ्नै कार्यलय परिसरका दुईवटा सालका रुख जेसीवी लगाएर ढालेको छ । समाचार स्रोतका अनुसार गत बैशाख ३ गते दिउँसो ३ बजे तिर बनका पूर्व अध्यक्ष हरिप्रसाद पौडेल र वर्तमान अध्यक्ष नवीन राईले जेसीवी लगाएर रुख ढालेको प्रत्यक्षदर्शीले निरन्तर खबरलाई बताए । उनले नाम उल्लेख नगर्ने सर्तमा भने – शौचालयको सेफ्टी टेङ्की खन्ने प्रयोजनका लागि ल्याइएको जेसीवीले ठेलेर रुख ढालेको हो । न हावा हुरी, न आँधी बेँहरी अचानक रुख ढलेपछि हाम्रो सातो गयो । छिनभरमा दुईवटा रुख ढले ।’

समाचार स्रोत भन्छ, “रुख ढाल्ने निर्णय कार्य समितिको बैठकमा भएको छैन । जिल्ला बनको स्वीकृति समेत लिइएको छैन ।कार्य समितिका कतिपय पदाधिकारी रुख ढलेको विषयमा बेखवर छन्। पूर्व अध्यक्ष पौडेलले यसअघि पनि उक्त रुख ढाल्ने  प्रयास गरेका थिए । तर उसबेला वर्तमान अध्यक्ष राई र पौडेलको पानी वारावारको अवस्थामा पौडेल रुख ढाल्नबाट पछि हटेका थिए ।

जिल्ला वनको सहमति बिना किन ढालियो रुख ?

यस्तो  कहानी झण्डै ५ वर्ष अघि पौडेल वनको अध्यक्ष थिए । अध्यक्ष छँदा उनले  भलुवा सिमसारको विकास गर्ने र त्यस क्षेत्रमा आन्तरिक पर्यटक ल्याउने योजना बनाए । पौडेलको योजनामा साक्षी किनारामा सही छाप गर्ने पहिलो ब्यक्ति थिए , हालका अध्यक्ष नवीन राई र लक्ष्मण राई पनि । सामूदायिक वनले उसबेला ८ लाख रुपियाँ सिमसार निर्माणमा खर्च गरेको थियो भने जिल्ला विकास समितिले ४ लाख रुपियाँ भलुवा सिमसारका लागि छुट्याएको थियो । त्यस बाहेक सिमसार परिसरका लगभग २५ वटा ठाडा रुख बिक्री गरेको पैसा पनि सिमसार निर्माणमा नै खर्च भएको थियो । तर उक्त सिमसार निर्माणका क्रममा भएको हिसाव अझै फरफारक भएको छैन । तत्कालिन अवस्थामा कानेपोखरी–रङ्गेली सडकको काम गरिरहेको जिभिआर निर्माण कम्पनीका जेसीवी र स्कावेटर प्रयोग गरी रातारात सिमसार परिसरलाई झट्ट हेर्दा राम्रो पारियो । तर, त्यहाँ भएका झण्डै २५ वटा ठाडा सखुवाका रुखको हिसाव किताव अझै उपभोक्ताले खोजिरहेका छन् ।

अझ रोचक र महत्वपूर्ण विषय जीवीआरका स्कावेटर र जेसीवी रातारात धम्की पूर्ण शैलीमा लगेर काम गरे पनि  पौडेल र राईद्वयले उक्त कम्पनीलाई पैसा भुक्तान नगरेको  जीवीआर कम्पनीले निरन्तर खबरलाई बताए । झण्डै एक महिना लगाएर सिमसार बनाइए पनि सिमसार पूर्वाधार सम्पन्न बन्न सकेन । त्यहाँबाट निकालिएका काठहरू बिक्री गर्ने क्रममा लेनदेन नमिलेपछि पौडेलसँग असन्तुष्ठ उनका केही कार्यकर्ताले पौडेलले बिक्री गरेको काठ प्रहरी लगाएर पक्राई दिए । तत्कालिन समितिका उपभोक्ता र सदस्यले दिएको जानकारी अनुसार पक्राउ परेको काठ सिमसार परिसरबाट निकालिएको काठको सयको एक भाग पनि थिएन । त्यसपछि सामूदायिक वनका तत्कालिन अध्यक्ष पौडेल मुद्धाको सामना गर्न बाध्य भए । पौडेललाई मुद्धा पनि लाग्नु र जिविस, सामूदायिक वनले विनियोजन गरेको जम्मा १२ लाख रुपियाँ पनि बैठक, यातायात ,पाहुना सत्कार र पान मदिरामा सकिएपछि संखुवासभाबाट आएका लक्ष्मण राई रातारात फरार भए । उनी अझै सम्पर्कमा आएका छैनन । सिमसार छेउछाउका काठ बिक्रीबाट  प्राप्त पैसाले सिमसारलाई सौन्र्दर्यीकरण गर्ने केही काम भयो । तर त्यही बीचमा स्थानीय केही उपभोक्तासँग पौडेल आफैंले झण्डै १५ लाख रुपियाँ सिमसारको बिकासका लागि भनेर ऋण लिएको  बताउन थाले । बनलाई मुद्धा लागेपछि मुद्धा लड्न पौडेलले उक्त  रकम ऋण लिएको जानकारहरू बताउँछन् ।पौडेलले काठ बेचेर त्यो ऋण तिर्ने सर्त गरेका थिए, तर उनको योजना बीच मै तुहिएपछि पौडेलले ५ वर्ष बितिसक्दा पनि अझै उक्त रकम तिर्न सकेका छैनन । पटक पटक तागेता गर्दा पनि पौडेलले ऋण नतिरेपछि सामूदायिक वनको आगामी वर्षको कार्यक्रममा नै उक्त ऋण तिर्न १० लाख रुपियाँ छुट्याइएको छ । तर,पौडेलको बद्मासीले सामूदायिक बनलाई ऋण लागेका भन्दै कार्यसमितिले तिर्न नमानेपछि पौडेल कै योजनामा दुई वटा रुख काटेर बिक्री गर्ने योजना बनाइएको हो । समाचार स्रोत भन्छ– राई रुख काट्ने पक्षमा थिएनन । तर,पौडेलले आँट दिएपछि राईले ‘ओके’ गरेका हुन् । सामूदायिक वन परिसरका दुई वटा रुख एकाएक नाटकीय रुपमा ढलेपछि अहिले पौडेल र राईको टाउको दुखाई भएको छ । पौडेलले आफ्ना नजिकका कार्यकर्तालाई फोन गरी यो घटनालाई साम्य पार्न निर्देशन गरेका छन् । समाचार स्रोतले भन्यो पौडेल निकट एक युवकले वन कार्यालय परिसर वरिपरिका लाई फोन गरेर चैत २७ गते दुई वटै रुख हावाले ढालेको भन्न लगाएका छन् ।

उता सामूदायिक वनका अरु पदाधिकारीहरू रुख ढलेको विषयमा कुनै जानकारी नभएको बताउँछन् । एक उपभोक्ताले नाम गोप्य राखिदिने सर्तमा भने–‘रुख शौचालयको सेफ्टी टेन्की खन्न बैशाख ३ गते ल्याइएको जेसीवीले ढालेको हो । रुख ढालेको देख्ने र ढाल्दै गरेको तस्विर आवश्यक परे उपलब्ध गराउन सक्छु ।’  रुख ढालेको बिषयमा सेक्टर बन कार्यालय बेलबारीका प्रमुख सत्रुधनलाल देबले भने रुख जेसिबी लगाएर नै ढालिएको हो र ढालिएको बिसयमा सम्बन्धित बनलाई कारबाहीको प्रक्रिया अगाडी बढायिएको बताए । ग्रामिण सुधार सामुदायिक बनका अध्यक्ष नबिन राईले भने हावा हुरीले रुख ढालेको र आफुलाई फसाउनको लागी केहि कारबाहीमा परेका उपभोक्ता समितिका सदस्य तथा उपभोक्ताहरुले झुटो अफबा फैलाएको बताए ।

उता पथरीशनिश्चरे १० को पशुपति सामूदायिक वन उपभोक्ता समूहमा पनि २ हजार ६ सय ७१ किवि लकडी कटानको आदेश ल्याएर झण्डै ५ हजार किवी लकडी काटेको रहस्य खुलेको छ । जिल्ला वन कार्यालय मोरङले ०७४ फागुन २१ गते पशुपति सामूदायिक वनलाई सालका ३६ वटा र अन्य जातका १० वटा रुख कटानको आदेश थियो । तर बन समिति र सेक्टर बन कार्यालय मंगलबारेका सहायक वन अधिकृत तारिणीप्रसाद चौधरीको मिलेमतोमा तोकिए भन्दा बढी काठ कटान भएको खुलेको छ । चौधरीको आशीर्वादमा काटिएका टुनामा लगाइएको टाँचाका आधारमा पनि घाटगद्दीमा ५ हजार किवी भन्दा बढी लकडी भएको जानकारहरू बताउँछन् । तोकिए भन्दा बढी कटान भएको रहस्य सार्वजनिक भएपछि गत शुक्रबार बिहानै देखि चौधरी आफै लागेर प्रत्येक टुनामा ५ देखि १० किवी सम्म कम नापजोखाको  अंक लेखेर कटान अनुसारको परिमाणमा कटान भएको पुष्टि गर्न लागेका छन् । यसै बीच वनमा आर्थिक अनियमितता भएको भन्दै ६६ जना उपभोक्ताले यही सोमबार छानविनको माग गर्दै  जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता दर्ता गरका छन् । उपभोक्ताहरूले उजुरीको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग,प्रदेश नं. १ का वन मन्त्री,जिल्ला वन कार्यालय,क्षेत्रीय वन निर्देशनालय, जिल्ला प्रहरी कार्यालय, बन मन्त्रालय र प्रधानमन्त्रीको नीजि सचिवालयलाई दिएको छन् ।

यति मात्रै होइन ,सामूदायिक वनले अघिल्लो समितिका सचिव कृष्ण घिमिरेसँग भुक्तान लिन बाँकी २ लाख २७ हजार ९७९ रुपैयाँ ७२ पैसा अझै असुल गर्न सकेको छैन । समाचार स्रोत भन्छ–बन पदाधिकारीहरूले धेरै जसो रकम समितिकै जिम्मामा राख्ने गरेका छन् । जसले गर्दा कागज मिलाउँदै खर्च गर्दै गर्ने गरिएको छ । नगर क्षेत्र भित्र साना ठूला गरी १५ वटा बैंक र झण्डै ५५ वटा सहकारी संस्था छन् । यद्यपि सामूदायिक वनले बैंक मार्फत आर्थिक कारोवार नगरेको उपभोक्ताहरू बताउँछन् । नगरपालिकाको वार्ड नं. १० का अध्यक्ष सागर राईले समेत सामूदायिक वनमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन्। उनले आर्थिक अनियमितता भए नभएको छानविन गर्न सरोकारबाला निकायसँग माग समेत गरेका छन् ।

Facebook Comments
Show More

Related Articles