अर्थबिबिधसमाचार

चिनीको भाउ: पारि ७ रुपैयाँले झर्दा नेपालमा किलोमै १० बढ्यो,

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

‘भारत सरकारले चिनी उद्योग र उखु किसानलाई सहुलियत दिएका कारण चिनी अझै सस्तो हुन सक्छ’, ती पसलेले भने, ‘व्यापारीसित महँगो मूल्य परेको पुरानो मौज्दातको चिनी पनि भएकाले एकै चोटि मूल्यमा ह्रास नआएको हो। पुरानो मौज्दात सकिएर नयाँ चिनी बजारमा आउनेबित्तिकै जोगबनीको खुद्रा बजारमा चिनीको मूल्य प्रति किलोग्राम नेरु ५० सम्म झर्न सक्छ।’
नेपाल सरकारले चिनीको भन्सार मूल्याङ्कनमा प्रति मेट्रिक टन १ सय अमेरिकी डलर वृद्धि गर्दै यसको भन्सार महसुल पनि दोब्बर बढाएर ३० प्रतिशत बनाएको छ। यसरी छिमेकी भारतीय बजारमा प्रति दिन सस्तो हुँदै गएको चिनी नेपालको बजारमा भने महँगो हुँदै गएको छ।
विराटनगरको बजारमा चिनीको खुद्रा मूल्य वृद्धि भएर प्रति किलोग्राम ७० देखि ७२ पर्न थालेको छ।
‘आयातकर्ताले प्रति क्विन्टल ६४ रुपैयाँले दिइरहेका थिए’, विराटनगरको पवन किरानाका विवेक अग्रवालले भने, ‘एक हप्तायता ६८ बनाएका छन्। हाम्रो पसलले खुद्रा प्रति किलोग्राम ६८ मा विक्री गरिरहेको थियो, अब ७० बनाएको छ। कुनैकुनै पसलमा ७२ सम्म पुगेको छ।’
भन्सार महसुलमा वृद्धि भए पनि चिनीको मूल्यमा वृद्धि नहुने दाबी सरकारी पक्षले गरेको थियो। तर सरकारी दाबीका विपरीत चिनीको मूल्यवृद्धि सुरु भइसकेको छ।
भन्सार मूल्याङ्कन फिर्ता गराउन पत्रकार सम्मेलन
मोरङ व्यापार सङ्घद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा चिनीको कारोबार मूल्यलाई भन्सार कार्यालयले मान्यता नदिई एक सय अमेरिकी डलर थप गरेर भन्सार महसुल र जरिवानासमेत थोपर्नु घोर आपत्तिजनक रहेको भन्दै सङ्घका अध्यक्ष पवनकुमार शारडाले एकपक्षीय रूपमा गरिएको भन्सार मूल्याङ्कन फिर्ता लिन माग गरेका छन्।
‘समुद्रपारका मुलुकका निर्यातकर्ताले प्रति मेट्रिक टन ३ सय ४० देखि ३ सय ६० अमेरिकी डलरमा चिनीको निकासी गरेका छन्’, अध्यक्ष शारडाको हस्ताक्षरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले भन्सार विन्दुमा चिनीको भन्सार मूल्याङ्कन ४ सय ६० डलर कायम गरेको छ भने भन्सार महसुल पनि दोब्बर बढाएर ३० प्रतिशत बनाएको छ। यसले गर्दा चिनीको लागत खर्च प्रति किलोग्राम ७२ रुपैयाँ पर्ने छ। सरकारको भन्सार मूल्याङ्कनका कारणले नेपालमा पैठारी गरिएको चिनी महँगो भई अब चोरी पैठारी भएर आउने देखिएको छ।’
अध्यक्ष शारडाको भनाइ थियो, ‘प्रति मेट्रिक टन सरदर ३ सय ६० डलरमा पैठारी भइरहेको चिनीलाई सरकारले ४ सय ६० डलर मूल्याङ्कन गरेर भन्सार महसुल र मूअकर असुल गर्नु न्यायसङ्गत छैन। विश्व व्यापार सङ्गठन (डब्लुटीओ) को मर्म र मान्यता, मूअकरको सिद्धान्त र भन्सार विन्दुमा बिलबिजकलाई मान्यता दिनुपर्ने अन्तर्राष्ट्रिय प्रचलनका विरूद्ध चिनीको भन्सार मूल्याङ्कन प्रति मेट्रिक टन ४ सय ६० डलर कायम गरिएको छ।’
उनले चिनीका पैठारीकर्ताले भन्सार कार्यालयलाई ‘हामीलाई न्यून विजकीकरण गरेको आरोप लगाएर भन्सार ऐनअनुसार हाम्रो चिनी खरिद गरिदिन’ भन्दै पटकपटक अनुरोधसमेत गरेको जानकारी दिए।
तर कार्यालयले आयातकर्ताको अनुरोधलाई वास्ता नगरी ३ सय ६० डलरका हिसाबले भन्सार महसुल ३० र मूअकर १३ प्रतिशत अनि थप १ सय डलरको भन्सार महसुल ३० र मूअकर १३ प्रतिशतमा थप ५० प्रतिशत जरिबाना समेत लिने गरेको बताए। यसबाट समस्त आयातकर्ताले आफू अन्यायमा परेको अनुभव गरेको उनको दाबी थियो।
‘भन्सार कार्यालयको यस कदमबाट चिनी उद्योग, किसान र आम उपभोक्तालाई समेत कुनै फाइदा नपुग्ने निश्चित छ’, शारडाको घोषणा थियो, ‘नेपालका पैठारीकर्ताले अब परल मूल्यभन्दा धेरै कममा चिनी विक्री गर्नुपर्ने स्थिति छ। यसले गर्दा सयौँ आयातकर्ता व्यवसायी टाट पल्टने र बैङ्कको लगानी डुब्ने अवस्था उत्पन्न भएको छ।’
यसकारण थन्क्याइयो भन्सारको गोदाममा 
भन्सार प्रमुख मीमांशा अधिकारीका अनुसार भन्सार कार्यालयमा रहेको ट्रान्स नेपालको गोदाम चिनीले भरिई सकेको छ। गोदाममा हाल ५० कन्टेनरमा आयातीत चिनी राखिएको छ।
सङ्घका अध्यक्ष शारडाको कथन थियो, ‘हाल वृद्धि गरिएको भन्सार महसुल ३० प्रतिशत तिरेर चिनी छुटाउन पैठारीकर्ता मित्रहरू बाध्य भए पनि जबर्जस्ती वृद्धि गरिएको भन्सार मूल्याङ्कन प्रति मेट्रिक टन थप १ सय डलरमा भन्सार छुटाउन सक्ने अवस्था छैन। त्यसैले पैठारी भएको चिनी उहाँहरूले भन्सारकै गोदाममा थन्क्याउन थाल्नु भएको हो।’
पवनको गुनासो थियो, ‘सरकारले चिनीको पैठारीमा परिमाणात्मक बन्देज वा पूर्णतः प्रतिबन्ध लगाए पनि हाम्रो आपत्ति रहने छैन। तर खुला बजार र उदार अर्थ व्यवस्थाको मर्म र मान्यताअनुसार आयात गरिएको चिनीको भन्सार मूल्याङ्कन अनावश्यक रूपमा बढाएर भन्सार महसुलमा जरिवानासमेत थोपरेका कारण व्यवसाय सङ्कटमा परेको छ।’
Facebook Comments
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.