खेलकुदसमाचार

नेपाल एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा, उपाधिका लागि हङकङसँग खेल्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२३ असार । नेपाल एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा घरेलु टोलीलाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । साविक विजेता नेपालले उपाधिको लागि मंगलबार हङकङसँग खेल्ने छ ।
सोमबार भएको खेलमा ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको सहज जितमा कप्तान रोहित कुमार पौडेलले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन अविजित रहे । त्यस्तै भिम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।
नेपालले चौथो ओभरको पाचौ बलमा ओपनर पवन सरार्फलाई १८ रनमा गुमाएको थियो । मोहम्मद खैरले विजय उन्नीबाट क्याच आउट गराउनु अघि १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । रित गौतम ३ रनमै क्याच आउट भए । सिंगापुरविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका खडक बहादुर बोहरालाई मोहम्मद आमिरले शुन्यमा बोल्ड आउट गरे । मलेसियाका लागि मोम्मद खैरले २ र मोम्मद आमिरले १ विकेट हात पारे ।
त्यसअघि, किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको थियो । मलेसियाका ३ खेलाडीले मात्र दोहोरो अंकको रन छुन सके । तेस्रो नम्बरमा मुहम्मद अमिरले बनाएको २४ रनै मलेसियाको पारीमा सर्वा्धिक व्यक्तिगत स्कोर हो ।
वान अमिरुल ११, हइकल मोहद खइर १२ र अहमद अलिफले १० रन जोडेर आउट भए । बलिङतर्फ नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै १६ रन खर्चिए । ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेका कुशल मल्लले २ विकेट लिए । रसिद खान र तिलकराज भण्डारीले पनि एक एक विकेट लिए ।
नेपालले समुह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो । यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल मंगलबार किनारारा ओभल क्रिकेट मैदानमा हुने छ ।

Facebook Comments
Show More

Related Articles