nirantarkhabarसमाचारसमाज

मानिसको बली दिएर शक्तिशाली धामी बन्ने अन्धविश्वसका कारण अढाई बर्षीय बालकको हत्या

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

१६ जेठ । धनुषा । धनुषामा मानिसको बली दिएर शक्तिशाली धामी बन्ने अन्धविश्वसका कारण अढाई बर्षीय बालकको  हत्या भएको छ । गएको वैशाख २३ गते हराएका मिथिला नगरपालिका–६ ढल्केबरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहको वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो ।
हत्यामा धामीको संलग्नता रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको अनुसन्धानको क्रममा धामी सिक्दै गरेका छिमेकी ५५ वर्षका सत्रुधन महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेको छ ।

धामी झाँक्रीमा आफू शक्तिशाली हुने अन्धविश्वासका कारण बालक आर्यनको बली दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो । हत्यारा झाँक्री महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झण्डै तीन सातापछि आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । वैशाख २३ गते साँझ बालककी आमा रेनुदेवी घाँस काट्न गएको बेला घरमा कोही नभएको मौकामा महतोले बालकलाई फकाएर अपहरण गरेका थिए । त्यही दिन महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि हुने अन्धविश्वासमा आफ्नै आँगनमा धारिलो हतियार प्रहार गरी देवीदेउताको नाममा बालकको घाँटी रेटेर बली दिएका थिए ।
बली पश्चात बालकलाई कृष्णानन्दनको बारीमा रहेको झाडीमा बालकको शव फालेका थिए । महतोका घरपरिवारका सदस्यहरु उपचार गराउन बाहिर गएको र घरमा कोही नभएको मौका छोपी बालकको बली दिएको अनुसन्धानबाट खुलेको उपरीक्षक खनालले बताउनुभयो ।

बालक आर्यन बिरामी हुँदासमेत महतोले झारफुक गर्ने गरेका थिए । महतोको घर बालक आर्यनको घरबाट झण्डै १ सय मिटर टाढा रहेको छ । बालकको हत्यामा प्रयोग गरेको घरेलु हतियार र लुगाकपडा समेत प्रहरीले बरामद गरेको छ ।
बालकका हजुरबुवा पिताम्बर साह हलुवाइको झाँक्री महतोमाथि बालकको अपहरण गरी बन्धक बनाएर हत्या गरेको किटानी जाहेरीका आधारमा कारबाही प्रक्रिया अघि बढाएको उपरीक्षक खनालले जानकारी दिनुभयो ।

Facebook Comments
Show More

Related Articles