समाचार

बेलबारीको कर्णाली भनिएको वडा नम्बर ६ मा पहिलो कालोपत्रे हुँदै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ ८

बेलबारी नगरपालिका वडा नम्बर ६ का बासिन्दाहरु आफ्नो वार्डलाई नगर भरीकै सबैभन्दा दुर्गम वडा भन्ने गर्दछन् । दुरीको हिसावले पनि नगरको केन्द्र भाग भन्दा टाढा, शिक्षा स्वास्थ्य  भौतिक पुर्वाधार जस्ता कुरामा पनि अन्य वार्डको दाँजोमा पछाडी परेको भएकैले सो वडाबासीहरु आफ्नो वार्डलाई बेलबारीको कर्णाली पनि भन्ने गर्दछन्  । शिक्षा स्वास्थ्य लगायत अन्य धेरै कुराहरुको मापन गर्ने हो भने वार्डनम्बर ६ लाई बेलबारीको कर्णाली भन्नु सान्दर्भिक लाग्छ ।

हुन पनि अहिलेसम्म सो वार्ड भित्र कालोपत्रे सडकको प्रवेश भएको छैन् । पिच सडक हेर्छुमात्रै भन्ने चाहना यदि सो वडाबासीले राख्ने हो भने पनि कुनै अर्को वडामा जानैपर्ने बाध्यता छ । बेलबारी वार्ड नम्बर ६ मा अहिले सम्म कुनै पनि यस्तो वस्ती छैन जहाँका वासिन्दाले सडकको धुलो खान नपरेको होस ।

तर यसैविचमा सो वडाभित्र अब भने कालोपत्रे सडक निर्माण हुने कामको सुरुवात भएको छ । सोमबारेबाट जरुवाटोली हुँदै दुधापुल सम्म जोड्ने सडक कालोपत्रेको काम सुरु भएको हो । डेढ किलोमिटर लामो सो सडक खण्ड कालोपत्रे भैसकेपछि यो नै वडानम्बर ६ भरीकै पहिलो र एकमात्र कालोपत्रे सडक हुनेछ । ९२ लाख ९८ हजार रुपैयाँको लागतमा सो सडक निर्माण सम्पन्न हुने नगरपालिकाको योजना शाखाले जानकारी दिएको छ ।

संघिय सांसद विकास कोष र बेलबारी नगरपालिकाबाट विनियोजित बजेटबाट वडाकै पहिलो कालोपत्रे सडक निर्माणको काम सुरु भएको वडा नम्बर ६ का वडाध्यक्ष उदय बहादुर राईले जानकारी दिए ।

पहिलो कालोपत्रे सडक बन्न थालेपछि वडावासी र जनप्रतिनिधि पनि हर्षित र उत्साही बनेका छन् ।‘ पहिलो कालोपत्रे भएकाले वडावासी पनि उत्साहित हुनुहुन्छ ।’ वडाध्यक्ष राई भन्छन् ‘ हामी जनप्रतिनिधि पनि खुसी छौं । वडाबासीको विकास प्रतिको उत्साह र सहभागिताले हामीलाई पनि उर्जा मिलेको छ ।’

पिछडिएको र हरेक सुविधाबाट बञ्चित रहेको वडामा पहिलो पटक सडक कालोपत्रे हुन थालेकोमा यसले  आफुजस्तै वडाका वासिन्दामा खुसी छाएको सोमबारे टोल विकास संस्थाका अध्यक्ष दिपकमल गच्छेदारले बताए ।

विकासमा पछि छौ भन्ने महसुस गरेका वडाबासीले आफ्नो वार्डमा अब विकासको लहर नै  चलोस भन्ने चाहना राखेको सोही वडाबासी टेकनाथ शर्माको भनाई छ ।  यसैले आफ्नो वार्डमा हुने विकास निर्माणका गतिविधिलाई सबैले चासो र उत्साहका साथ हेर्ने गरेको उनी बताउँछन् ।

हिजो जे जस्तो भएपनि अब वडानम्बर  ६ लाई समुन्नत र  विकासका पुर्वाधारले भरीपुर्ण वडाका रुपमा  त्यहाँका वासिन्दाले हेर्न चाहेका छन् । विकास निर्माणका कामलाई आवश्यक गतिमा निरन्तर अघि बढाउन सर्वसाधारण वासिन्दाको पनि उत्तिकै योगदान रहन्छ । स्थानिय क्षेत्रमा क्रियाशिल विभिन्न राजनितिक दल,उद्यमी व्यवसायी,शिक्षासेवाी वौद्धिक व्यक्तित्व सहित सरोकारवाला सबैले विकासका काममा खुलेर सहयोग र योगदान गर्ने हो भने  बेलबारीको कर्णाली भनिएको वार्डनम्बर छ नगरकै समुन्नत,उत्कृष्ट वडा बन्ने सम्भावना छ ।

 

Facebook Comments
Show More

Related Articles