समाचार

धिमाल जातिका तर्फबाट बेलबारी नगरपालिकालाई धन्यवाद

आफूहरुलाई पहिलो जाति घोषणा गरेकोमा धिमाल समुदाय हर्षित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत २९
आफूहरुलाई पहिलो जाति घोषणा गरेकोमा धिमाल समुदायले बेलबारी नगरपालिकालाई औपाचारिक रुपमै धन्यवाद दिएकाे छ। घोषणासँगै हर्षित बनेको धिमाल समुदायले बेलबारी ३ मा रहेको धिमाल धार्मिक ग्रामथानमा शुक्रबार धन्यवाद ज्ञापन गर्न कार्यक्रम आयोजना गरेको थियो ।
धिमाल जाति विकास केन्द्र नगर समन्वय परिषद बेलबारीले बेलबारी ३ स्थित धिमाल धार्मिक ग्रामथानमा कार्यक्रम आयोजना गरेको थियो । धिमालको सांस्कृतिक झाँकी सहितको र्याली पछि भएको धन्यवाद ज्ञापन तथा शुभकामना आदानप्रदान एवम् वृहत सांस्कृतिक कार्यक्रममा धिमाल अगुवाहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रममा धिमाल जाति विकास केन्द्रका केन्द्रिय अध्यक्ष तेजबहादुर धिमालले बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई धन्यवाद पत्र प्रदान गर्नुभएको थियो । नगरप्रमुख सुवेदीेले अब धिमाल समुदायको हितका कार्यक्रममा नगरपालिकाले ध्यान दिने बताउनुभयो । नगरपालिकामा सञ्चालन हुने विभिन्न लाभदायक कार्यक्रममा सक्रियता पुर्वक सहभागिता जनाउन पनि सुवेदीले आग्रह गर्नुभएको छ ।
धिमाल जाति विकास केन्द्रका केन्द्रिय अध्यक्ष तेजबहादुर धिमालले प्रथम जाति घोषणा गरेकोमा नगरपालिका प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रथम नागरिक धिमाल व्यवस्थापन समिति दमकका सचिव मोहन धिमालले पहिलो जाति घोषणासँगै धिमाल जातिमा जिम्मेवारी समेत थपिएको बताउनुभयो । यो घोषणा धिमाल जातिको शिर ठाडो पारेको र आत्मबल पनि बढाएको बताउनुभयो । प्रथम जाति घोषणा भएसँगै धिमाल जातिले आफ्ना कर्तव्य पनि पुरा गर्नुपर्ने उहाँको भनाई थियो ।


धिमाल जाति विकास केन्द्र बेलबारीका उपाध्यक्ष ताराबहादुर धिमालले धिमाल जातिहरु विभिन्न समस्यासँग जुद्धै आफ्नो अस्तित्व जोगाएर बसेका पहिलो जाति भएको बताउनुभयो ।

कार्यक्रममा धिमाल जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो भने मिस धिमालका विजेताहरुलाई पनि प्रसंसापत्र प्रदान गरिएको थियो ।धिमाल संस्कृति झल्कने प्रस्तुती धिमाल भाषाको गायन र धिमाल गितमा नृत्य समेत प्रस्तुत गरिएको थियो । धिमाल जाति विकास केन्द्र बेलबारी नगरसमन्वय परिषदका अध्यक्ष कविन्द्र धिमालको सभापतित्वमा भएको कार्यक्रम सचिव सञ्जिव धिमालले सञ्चालन गर्नुभएको थियो ।कार्यक्रममा बेलबारीका विभिन्न दल,संघसंस्था,जातिय संस्थाका प्रतिनिधि लगायतको पनि सहभागिता रहेको थियो ।

Facebook Comments
Show More

Related Articles