nirantarkhabar

दिवाकर गोल्छा: भीषण आगलागीले जन्माएको नायक, देशको औद्योगिक क्रान्तिका अगुवा

जसले गोल्छा समुहलाई सफलताको उचाईमा पुर्याए

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत्र २७

विराटनगर। तीसको दशक मध्यमा पुग्न लागेको थियो, २०३४ सालमा गोल्छा अर्गनाइजेसनले कहिल्यै नभोगेको विपत्ति सामना गर्नुपर्यो। विराटनगरको रानीमा रहेको हनुमान् जुट प्रेसको गोदाममा आगो लाग्यो।

त्यस बेलासम्म गोल्छा परिवारको मुख्य व्यवसाय जुटको निर्यात थियो, अर्को एउटा हुलास मेटल क्राफ्ट उद्योग पनि सञ्चालित थियो।SRBLSipradee

‘त्यो आगलागीले हामीलाई ठूलो नोक्सान लाग्यो, जुटको बीमा गरिएको थिएन’, दिवाकरका कान्छा भाइ राजकुमारले पुरानो प्रसङ्ग सम्झिए, ‘हाम्रा हजुरबा रामलाललगायत सम्पूर्ण परिवारका लागि त्यो ठूलो धक्का थियो। हाम्रो पूँजीको ठूलो हिस्सा साफ भयो। आगलागीको घटनापछि सबैको अनुहार चिन्तित र मलिन देखिन्थ्यो। हामी स्कुलमा ५–६ कक्षामा थियौँ, त्यसैले उहाँहरूको उदास अनुहारलाई सहजै पढ्न सक्थ्यौँ।’

हरेक विपत्तिमा एउटा नायक जन्मन्छ भनेजस्तै त्यो घटनाले गोल्छा परिवारमा हजुरबा रामलालपछि अर्को नायकको उदय गरायो। शोकमग्न राजकुमारले आफ्ना माइला दाजुलाई यसरी सम्झिए, ‘त्यो उन्नायक दिवाकर गोल्छा हुनुहुन्थ्यो।’

तीनै दिवाकरको मंगलबार राती चेन्नईमा निधन भएको छ। किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो।

राजकुमारको सम्झनाअनुसार आगलागीको घटनापछि एक दिन सबै परिवार दुःखका साथ बसेर छलफल गरिरहेका बेला साहस प्रकट गर्दै दिवाकरले घोषणा गर्नुभएको थियो, ‘अब परम्परागत व्यापार र जुटको निर्यातमा मात्र गोल्छा परिवार सीमित रहन सक्तैन। हामी औद्योगिक विस्तारमा जानुपर्छ। तपाईंहरू सक्रिय समर्थन, सहयोग, शुभकामना, आशीर्वाद जे सक्नुहुन्छ गर्नूस्, औद्योगिक विस्तारको नेतृत्व म गर्छु।’

दिवाकरको यो साहसपूर्ण घोषणापछि गोल्छा अर्गनाइजेसन औद्योगिक विस्तारमा सक्रिय भयो। दिवाकरले आफ्नो जीवनकालमा ३० वटाभन्दा बढी उद्योग स्थापनाको नेतृत्व गरे।

‘उहाँको नेतृत्वमा पहिलो उद्योग हुलास स्टिल सिमरामा स्थापित गरियो’, राजकुमारले भने, ‘उत्पादन सुरु गर्नेबित्तिकै हुलास स्टिल एक सफल उद्योगका रूपमा प्रतिष्ठित भयो। त्यसपछि मोरङको टङ्कीसिनवारीमा उहाँले हुलास वायरको स्थापना गर्नुभयो।’

यसपछि पनि दिवकारले विश्राम लिएनन्। खाद्यान्न, चिनी र जुटका ठूलाठूला उद्योगको स्थापना गरिरहे। उनकै नेतृत्वमा सुनसरीको अरिहन्त मल्टिफाइबर्सको स्थापना गरियो। रौतहटको श्रीराम सुगर मिल्स र सुनसरीको इस्टर्न सुगर मिल दिवाकरकै परिकल्पना र अवधारणा थियो। रघुपति जुट मिललाई निजीकरणमा गोल्छा अर्गनाइजेसनअन्तर्गत ल्याउने मुख्य भूमिका उनकै थियो।

‘उहाँसित उद्योगका लागि एउटा भिजन थियो र एक ‘ड्यासिङ’ व्यक्ति पनि हुनुहुन्थ्यो’, राजकुमारको भनाइ छ, ‘अर्गनाइजेसन अन्तर्गतको कुनै उद्योगमा केही समस्या आउनेबित्तिकै उहाँका कान ठाडा भइहाल्थे। सबै सञ्चालकले उहाँलाई नै सुनाउँथे र उहाँ त्यसको उचित समाधान तत्काल दिन सक्नुहुन्थ्यो। उहाँले बोलेपछि कसैले उत्तर फर्काउन सक्तैनथे। उहाँले हाम्रो परिवारमा होइन मुलुकमै औद्योगिक क्रान्ति र विस्तारको नेतृत्व गर्नुभएको छ।’

खासमा दिवाकर गोल्छा समूहका ‘ब्याक बोन’ थिए। ‘सम्पूर्ण अर्गनाइजेसन उहाँकै नेतृत्वमा यहाँसम्म आइपुगेको हो’ राजकुमारले भने।

दिवकारका बालसखा एवम् नेपाल उद्योगवाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य शङ्करलाल अग्रवाल भन्छन्, ‘एसएलसीमा हाम्रो स्कुल अलग थियो तर ट्युसन सँगै पढ्थ्यौँ। सानैदेखि दिवाकर पृथक् स्वभावका लाग्थे। कुनै नौलो काम गरौँ, कुनै विशेष अभियानको नेतृत्व गरौँ भन्ने स्वभाव उनको थियो।’

‘मैले त व्यक्तिगत रूपमा एउटा मित्र गुमाएँ तर मुलुकले एउटा होनहार भिजनरी पर्सनालिटी गुमाएको छ’, शङ्करलालले भने, ‘औद्योगिकीकरणका लागि दिवाकरको सोच, सामथ्र्य र चेतना अत्यन्त सशक्त थियो। उनकै देन हो, गोल्छा परिवार आज धेरै उद्योगको मालिक भएको छ।’

हजुरबा रामलालले श्रीगणेश गरेको व्यवसायलाई उपल्लो उचाइमा पुर्याउने मुख्य देन दिवाकरकै थियो। बाल सखा शङ्करलालका अनुसार दिवाकर सभ्य, शालीन र भद्र स्वभावका थिए। त्यसैले उनी नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष पदका लागि फोहरी झगडामा उत्रिएनन्। दिवाकर महासङ्घको उपाध्यक्षसम्म भए। तर उनको अध्यक्ष हुने पालामा महासङ्घको राजनीति धेरै विकृत भइसकेको थियो। त्यसैले अध्यक्ष पदका लागि दिवाकरले आफ्नो आत्मसम्मान र स्वाभिमानको तिलाञ्जली दिएनन्।

दिवाकरले अन्तर्राष्ट्रिय ब्यापारमा पनि देशलाई गुन लगाएका थिए। उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीका अनुसार, भारतसँग भएको १९९६ को ब्यापार सन्धिमा दिवाकरले एकदमै ठूलो भूमिका खेलेका थिए। ‘त्यो सन्धि भनेको नेपालको औद्योगिक विस्तारको थियो’ जोशीले भने, ‘त्यसबाट जिरो ट्यारिफ सुविधा थियो।’ उनका अनुसार दिवाकरको पहलकै कारण यार्केलिक यार्न, वनस्पति घ्यु लगायतका नेपाली बस्तुको निकासी राम्रो भयो।

‘हाम्रो दोहोरो साइनो छ’, संविधान सभा सदस्य राजलक्ष्मी गोल्छाले भनिन्, ‘माइतको साइनोले उहाँ मेरो भिनाजु हो र घरतिरबाट जेठाजु। सबैलाई औधि माया गर्नुहुन्थ्यो। हामी सबैका उहाँ आदरणीय अभिभावक हुनुहुन्थ्यो। कर्मवीर रामलालको निधनपछि गोल्छा परिवारका हरेक सदस्यले उहाँलाई नसोधी केही गर्नुभएन।’

राजलक्ष्मीले थपिन्, ‘औद्योगिक विस्तारका लागि उहाँको डिसिजन, डिटरमिनेसन र डेडिकेसनप्रति म नतमस्तक छु।’

गोल्छा अर्गनाइजेसनका संस्थापक रामलाल गोल्छाका दुई छोरा हुलासचन्द र हंसराजमध्ये दिवाकर हंसराजका माइला छोरा हुन्। उनका जेठा दाजु लोकमान्य र भाइहरू क्रमशः महेन्द्र, दिनेश र राजकुमार हुन्। महेन्द्रको यसअघि नै निधन भइसकेको छ।

 

Facebook Comments
Show More

Related Articles