समाचार

प्रहरी प्रसासनले नै नेविसंघ कुट्ने अखिलको संरक्षण गरेको कांग्रेस नेताहरुको आरोप

कुटपिट विरुद्ध नेविसंघको र्याली

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत १८
सुकुना क्याम्पसमा नेविसंघका विद्यार्थी कुट्ने अखिलका कार्यकर्तालाई प्रहरी प्रसासनले नै संरक्षण गरेको कांग्रेस नेताहरुले दावी गरेका छन् । शान्तिपुर्ण धर्नाका क्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सांघातिक आक्रमण गरेको भन्दै त्यसको विरोधमा नेपाल विद्यार्थी संघले सोमबार विराटचौकमा आयोजना गरेको वृहत र्याली पछिको सभामा नेताहरुले त्यस्तो बताएका हुन् । कांगे्रस र उसका भातृसंगठका विभिन्न तहका नेताहरुले आफुहरुलाई कमजोर सम्झिएर हेपाहा व्यवहार गरीरहे ‘पावर’ देखाइदिने चेतावनी समेत दिएका छन् । क्याम्पस प्रसासन र प्राध्यापकहरुले नै अखिललाई उक्साएर नेविसंघमाथी सांघातिक हमला गराएको केही नेताहरुले दावी समेत गरे ।
कांग्रेस जिल्ला सभापति डिकबहादुर लिम्बुले शान्तिपुर्ण धर्नामा हिसात्मक आक्रमण गर्नेलाई कारवाही हुनुपर्ने बताउनुभयो । कांग्रेस महासमिति सदस्य एवम् नेपाल शिक्षक संघका पुर्व राष्ट्रिय अध्यक्ष केशव निरौलाले सांघातिक हमलामा उत्रिने अखिलका कार्यकर्ता र तिनका माउ पार्टीले लोकतन्त्रलाई अझै पनि बुझ्न नसकेको दावी गर्नुभयो । उनीहरुलाई पाठ सिकाउने काम नेविसंघकै भएको निरौलाको भनाई छ । उहाँले सुकुना क्याम्पसका प्राध्यापकहरुलाई ‘कामरेड प्राध्यापक’ भन्दै उनीहरुले गलत ढंगले क्याम्पस भित्र राजनिति गरेको र अखिललाई गलत बाटो हिँडाएको बताउनुभयो । अखिलका कार्यकर्ता कामरेड प्राध्यापकको उक्साहटमा लागेर भत्ता र दोहोरो सुविधा संरक्षण गर्न लागेको निरौलाको आरोप थियो ।


नेविसंघका पुर्व केन्द्रिय उपाध्यक्ष राजिव ढुंगानाले प्रहरी प्रसासनले अखिलका कार्यकर्ता संरक्षण गरेको र सत्तापक्षिय दलको मतियार बनेको आरोप लगाउनुभयो । ‘कसैको मतियार भएर काम गर्दैगर्दा फुली थपिन्छ भन्ने प्रहरीलाई लागिरहेको होला’ ढुगानाले भन्नुभयो‘कुनै दिन त्यो फुली खोसिन सक्छ भन्ने पनि हेक्का राख्नुहोला ।’ हामीसँग प्रहरी प्रसासन र सरकार छ भन्ने दम्भ पालेर नबस्न ढुंगानाले अखिलका कार्यकर्तालाई पनि सचेत गराउनुभयो । सुकुना क्याम्पस प्रमुख लगायतले दोहोरो सुविधा लिएर नैतिकता गिराएको भन्दै ढुंगानाले क्याम्पस प्रमुखको राजीनामा माग गर्नुभएको छ ।
कांग्रेस क्षेत्रिय सभापति गणेश कुमार खड्काले विद्यार्थीले जायज मागहरु ज्ञापनपत्रमार्फत प्रमुखलाई जानकारी गराउन जाँदा नेविसंघका विद्यार्थीहरु कुटिएको भन्दै खेद व्यक्त गर्नुभयो । कुटपिट गर्नेलाई प्रहरी प्रसासनले नै पहरा दिएर भगाएको पनि उहाँले बताउनुभो । कुटपिट भएको दिन सिसीटिभी विग्रिएको भन्दै क्याम्पसले गैरजिम्मेवार जवाफ दिएको खड्काले बताउनुभयो । खड्काले नियोजित रुपमा क्याम्पस प्रसासनले नै नेविसंघमाथी सांघातिक हमला गराएको पनि दावी गर्नुभएको छ ।
कार्यक्रममा प्रदेश सांसद सुयर्माराज राई,कांग्रेस पुर्व जिल्ला सचिव यदु विष्ट लगायतले नेविसंघका कार्यकर्ता माथी भएको सांघातिक हमलामा संलग्नलाई तत्काल कारवाही गर्न माग गर्नुभएको थियो । वृहत र्याली कार्यक्रमबारे प्रकास पार्दैै नेविसंघ मोरङ ३ नम्बर क्षेत्रका सभापति होमनाथ पोख्रेलले जायज मागहरु राख्ने क्रममा क्याम्पसले त्यो पुरा गर्ने भन्दा पनि नेविसंघका कार्यकर्तामाथी सांघातिक हमला गरिएको र अझै आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै प्रहरी प्रसासनको आलोचना गर्नुभयो । सुकुना क्याम्पसका प्राध्यापकले नेविसंघमाथी दमन गरेर अखिलका कार्यकर्ताको फेसबुक पोस्ट सेयर गर्ने गरेको बताउनु भयो ।
नेविसंघले आयोजना विरोध र्याली विराटचोकबाट सुरु भएर सुकुना क्याम्पस हुँदै पुन विराटचौकमा पुगेर कोणसभा आयोजना भएको थियो । र्याली क्याम्पस गेट हुँदै अघि बढ्दा क्याम्पस परसर वाहिर भने बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । गत चैत १३ गते क्याम्पसमा धर्ना बस्न गएका नेविसंघका कार्यकर्तामाथी अखिलका कार्यकर्ताले आक्रमण गर्दा नेविसंघका कार्यकर्ता घाइते भएका थिए । घटनाको विरोधमा नेविसंघले र्याली आयोजना गरेको हो । कुटपिट घटनाएको दिनदेखि नै सुकुना क्याम्पसका विद्यार्थीभन्दा पनि सुरक्षाकर्मीको गतिविधि धेरै देखिन्छ । यही कारणले २ दिनसम्म क्याम्पसको पठनपाठन समेत अवरुद्ध भएको थियो ।

Facebook Comments
Show More

Related Articles