साहित्य

फागुमा सिर्जना : विकृति भित्रन नदिन सन्देश

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत ७
बेलबारी र सुन्दरहरैचाका साहित्यकारहरुले सिर्जना वाचन सहित होली मनाएर फरक स्वाद पस्किएका छन् । होलीको सन्दर्भ पारेर साहित्यकारहरुले संस्कृतिमा विकृति भित्रन दिनुहुदैन भन्ने सन्देश समेत प्रवाह गरेका छन् । रंगहरुको पर्व होली विभिन्न तरिकाले मनाइरहँदा बेलबारी २ स्थित रमिते सामुदायिक वन क्षेत्रको पर्यटकिय स्थलमा सन्देश सहितको सिर्जना वाचन सहित होली मनाइको हो ।
नेपाली मौलिक संस्कृतिमा विभिन्न खालका विकृति हरु पनि भित्रने गरेको भनेर चिन्ता प्रकट भैरहेको बेलामा साहित्यकारहरुले भने संस्कृतिमा विकृति नभित्र्याउँ भन्ने विशेष सन्देश समेत प्रवाह गर्ने प्रयास गरे । होलीको महत्वपुर्ण क्रियाकलाप आपसमा रंग लगाउने काम सँगसँगै सन्देश सहित रचना वाचनको माध्यमबाट सचेतना र खबरदारी पनि गरीरहँदा होली मनाउँदाको नयाँपन महसुस गर्न सकिन्थ्यो । साहित्यकारहरु आवद्ध ४ वटा संस्थाहरु स्रस्टा समाज बेलबारी,बेलबारी साहित्य विकास समिति,सुनगाभा साहित्य समाज र विराट साहित्य समाजको संयुक्त आयोजनामा फागुमा सिर्जना भन्ने कार्यक्रम गरिएको हो । कार्यक्रममा डेढ दर्जन रचनाहरु वाचन गरिएको थियो । कार्यक्रममा हिरा खड्काले होलीलाई नै विषय बनाएर रचना वाचन गर्नुभयो । अर्का स्रष्टा एवम् विराट साहित्य समाजका अध्यक्ष उमानाथ भट्टराईले प्रकृतिलाई विषय बनाएर  कविता बाचन गर्नुभयो । संंगितकार समेत रहनु भएका साहित्यकार जेवी थुलुङले गजल सुनाउनुभएको थियो । कार्यक्रममा राजेन्द्र कार्की,विमला सुवेदी,वादलदेवी चाम्लिङ,इरन राई,गणेश लामा,नारायण राई, अनुप भट्टराई लगायतले रचना बाचन गर्नुभयो ।
होलीलाई सद्भावपुर्ण तरिकाबाट मनाऔ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सुनगाभा साहित्य समाजका अध्यक्ष धनजित पराजुलीले बताउनुभयो । पराजुलीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता स्रस्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन बेलबारी साहित्य विकास समितिकी उपाध्यक्ष तिला लेकालीले गर्नुभएको थियो । सुन्दरहरैँचा र बेलबारीका साहित्यकार एवम् साहित्यप्रेमीहरुको उपस्थितीमा कार्यक्रम भएको थियो ।

Facebook Comments
Show More

Related Articles