अर्थकृषिबिबिधसमाचारसमाज

दिगोपनले ग¥यो निशुल्क पशु स्वास्थ्य शिविर

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कानेपोखरी, २८ फागुन । मोरङको कानेपोखरी–६ कामत टोलमा सोमबार दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शिविर गाउँपालिकामा नै पहिलो पटक आयोजना गरिएको आयोजकको दाबी छ । हजार बढी किसान आफ्ना चौपायको उपचार खोजिमा शिविर पुगेका थिए । गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले कार्यक्रमको उद्घाटन गर्दै बाख्रालाई नाम्ले परजिवि विरुद्वको औषधि खुवाए । न त पानसमा दियो बालियो । न त ब्यानर अनावरण नै भयो । किसानहरू कार्यक्रम पशुपालकका लागि केन्द्रीत भएकोमा खुशी देखिएका थिए ।
नाम्लेको औषधि खुवाएपछि अध्यक्ष काफ्लले पशुपालक किसानलाई प्रत्यक्ष लाभ पुग्ने यस खाले कार्यक्रममा गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए । सोमबार राति अबेर सम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा १हजार बढी पशुको स्वास्थ्य परीक्षण भएको संस्थाका उपाध्यक्ष बिमला कोइरालाले बताइन् । ।कोइरालाका अनुसार शिविरमा पशुको बाँझोपन परीक्षण, गर्भ परीक्षण, गोबर जाँच, पशु बन्ध्याकरण,(खसी बनाउने), र औषधि वितरणका सेवा दिइएको थियो । पशु शिविरमा किसानहरूले टाढा टाढाबाट आफ्ना पशु चौपाय डो¥याएर ल्याएका थिए । शिविरमा सुँगुर, बोका, बहरको बन्ध्याकरण गरिएको थियो । आफ्नो गाईको गर्भ परीक्षण गराएपछि पशुपालक खेमनाथ पौडेलले भने –गाई ब्याउने भएको रहेछ , ढुक्कले घर फर्किएको छु । गाईमा बालि लागेको ६ महिना सम्म पनि गाई ब्याउँछ ब्याउँदैन भन्ने समस्याले किसानलाई ठूलो घाटा पुग्ने गरेको छ । सामान्यतया बाली लागेको सय दिनमा गर्भ परीक्षण गराएर नब्याउँने देखिए पुन साँडे खोज्नका लागि उपचार गर्नुपर्ने पशु स्वास्थ्यकर्मी भवानी कोइराला बताउँछन् ।
गाउँपालिकाका ४ , ५ , ६ र ७ नं.वडाका पशुपालक किसानका लागि लक्षित कार्यक्रमलाई हेफर इन्टरनेशनल र अभियान नेपाल झापाले प्राविधिक सहयोग गरेको थियो । यस्तै वडा नं. ६ र ७ ले शिविरका लागि आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष कमला योञ्जनले बताइन ।
कमला योन्जनको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्षहरू, हेफरका र अभियान नेपालका प्रतिनिधि र पशुमा बाँझोपन सम्बन्धी विशेषज्ञ डाक्टर लक्ष्मण घिमिरेले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
महिलाहरूले ७ वर्ष अघि सञ्चालनमा ल्याएको उद्यमी सहकारीले कार्यक्षेत्र भित्रै जिउँदो खसी बाख्रा बिक्री केन्द्र परियोजना सञ्चालन गर्न लागेको छ । गाउँपालिकाको सहयोगमा सञ्चालन हुन लागेको परियोजन सुरु भएपछि किसानले सस्तो मूल्यमा खसी बाख्रा बिक्री गर्नु पर्ने झन्झट समाप्त हुने अध्यक्ष योञ्जनको दाबी छ । उहाँका अनुसार जिउँदो खसी बाख्रा तौल अनुसारको मूल्यमा खरिद बिक्री हुनेछ ।

Facebook Comments
Show More

Related Articles