nirantarkhabarसमाचार

सरकारले प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाण्डौ । सरकारले प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने भएको छ । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मूल समारोह समिति गठन भएको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबार गृह मन्त्रालयमा बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताकासाथ मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षमा मूल समारोह समिति गठन गरेको हो । त्यसैगरी समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य रहनु भएको पनि गृह सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।

फागुन ७ गते सैनिक मंच टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुनेछ । उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहनु हुने कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।
यसै अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली मनाउने र विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा प्रजातन्त्र दिवससम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरिएको गृह सचिव राइले बताउनुभयो ।

सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर टुँडिखेलमा आयोजना गर्ने विशेष समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने र बेलुन उडाउने कार्यक्रम पनि हरेक वर्ष गर्दै आएको छ ।

Facebook Comments
Show More

Related Articles