समाचार

देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्रीको घोषणा साढे तीन वर्षमा पनि पूरा भएन

देशभर अझै २० वटा तुइन प्रतिस्थापन गर्न बाँकी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ २७

दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी ओलीको घोषणा साढे तीन वर्षमा पनि पूरा हुन सकेको छैन । पहिलोपटक प्रधानमन्त्री हुँदा पदभार ग्रहण गर्ने क्रममा २५ असोज ०७२ मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने निर्णय गरेका थिए ।

मुलुकभर अझै २० वटा तुइन प्रतिस्थापन हुन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालका अनुसार देशभर रहेका १३५ तुइनमध्ये ११५ तुइन प्रतिस्थापन भइसकेका छन् ।

बाँकी तुइन हटाउन सबै स्थानीय तहलाई परिपत्र 
प्रधानमन्त्री ओलीको घोषणासँगै तुइनमुक्त बनाउने अभियानलाई सफल बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्ययोजना बनाएको थियो ।
घोषित अवधिमा तुइन प्रतिस्थापन हुन नसकेपछि आवश्यक परेमा स्थानीय प्रशासनसमेतको सहयोग लिई यथाशक्य तुइन हटाउन मन्त्रालयले गत बिहीबार सबै स्थानीय तहलाई परिपत्र गरेको छ । सहसचिव नेपालले सबै तुइन प्रतिस्थापन गरेर झोलुंगेपुल बनाउन बजेट व्यवस्थापन र ठेक्का पनि लागिसकेको बताए । ‘यही वर्षभित्र सबै तुइन हटिसक्ने विश्वास मन्त्रालयको छ,’ उनले भने ।

तुइनपछि झोलुंगेपुल प्रतिस्थापन
तुइन प्रतिस्थापनका लागि सरकारले एक अर्ब ६५ करोड रुपैयाँ बजेट निकासा दिइसकेको छ । यो सबै पैसा निकासा भइसकेको सहसचिव नेपालले बताए । १२० मिटरसम्मको तुइन स्थानीय तहले, त्यसभन्दा माथि ३७४ मिटरसम्म प्रदेश र त्यसभन्दा माथिको संघले बनाउने निर्णय सरकारले गरेको थियो । देशभर ३७ जिल्लामा तुइन रहेको मन्त्रालयको भनाइ छ । तुइन प्रतिस्थापनपछि आगामी तीन वर्षभित्र मुलुकभरका सबै झोलुंगेपुल प्रतिस्थापन गर्ने योजना मन्त्रालयले तयार गरेको छ । हाल मुलुकभर करिब १ हजार ८ सय झोलुंगेपुल छन् । नयाँपत्रिकाबाट

Facebook Comments
Show More

Related Articles