शिक्षा-स्वास्थ्य

विद्यार्थीलाई सिकाउने गुरुकुलको काइदा : रेडियोदेखि बैंकसम्म,संस्कारदेखि संस्कृतिसम्म

विद्यार्थीले आफैले खोले बैंक खाता , पैसा पनि जम्मा गरे

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ १४
बेलबारी ३ स्थित गुरुकुल पाठशालाले आइतबार आफ्ना विद्यार्थीमात्रै हैन ती विद्यार्थीका अविभावक समेतलाई लिएर बेलबारी १ कै लक्ष्मी बैंकमा गयो । गुरुकुलका कक्षा ५ र ६ का विद्यार्थीले बैंकमा हुनेसम्मका सबै गतिविधि नियाले । त्यतिमात्रै हैन बैंकिङ क्रियाकलापमा विद्यार्थीहरु आफैैं पनि सहभागी भए । उनीहरुले बैंक खाता खोल्नका लागि आफैले फारम भरे, संरक्षकको आवश्यकता पर्ने ठाउँमा विद्यार्थीका अविभावकले सहयोग गरे । त्यतिमात्रै हैन आफ्नो खाता खुलेपछि विद्यार्थीले आफैले आफ्नो खातामा भौचर भरेर रकम समेत जम्मा गरे । बैंकमै लगेर अवलोकन गराउनुका साथै प्रयोगात्मक ज्ञान दिलाउने क्रियाकलापहरु पनि गराएको गूरुकुलले विद्यार्थीको खाता खोल्ने प्रयोजनका लागि संरक्षक आवश्यक पर्ने भएकाले अविभावकलाई बोलाएको थियो ।


गुरुकुल पाठशालाले ‘प्रोजेक्ट वर्क’ परियोजना कार्य अन्तर्गत विद्यार्थीहरुलाई लक्ष्मी बैंकको अवलोकन भ्रमण गराएको हो विद्यार्थीहरुले बैंकमा प्रयोग भएका प्रविधि तथा हुने गरेका गतिविधिहरु चाख पुर्वक अवलोकन गरेका थिए । बैंकका शाखा प्रमुख रमेश कटुवाल लगायतले बैंकमा हुने गतिविधि, क्रियाकलाप, बैक अन्तर्गत रहने विभिन्न शाखा र तिनीहरुका काम लगायतबारे जानकारी गराएका थिए ।


बैंक तथा वित्तिय संस्थाहरुको भुमिका हिजोआज हाम्रो व्यवहारमा अपरिहार्य भैरहेको सन्दर्भलाई ध्यान दिँदै विद्यार्थीहरुले प्रयोगात्मक ज्ञान लिन सकुन भन्ने उद्देश्यले प्रोजेक्ट वर्कको रुपमा अवलोकन भ्रमण राखिएको गुरूकुलका प्रिन्सिपल दिपेन्द्र  खुलालको भनाई छ ।‘बैंकमा गएर मानिस अल्मलिने,चेक तथा भौचर भर्न नजान्ने जस्ता समस्याहरु भोगिरहेका हुन्छन् ।’ खुलालले भने‘अध्ययनसँगै बेलैमा विद्यार्थीले सबै व्यवहारिक ज्ञान लिउन भन्ने हाम्रो उद्देश्य हो ।’
केही महिना अघि गूरुकुलले बेलबारी १ मा रहेको रेडियो बेतनाको पनि अवलोकन भ्रमण गराएको थियो । विद्यार्थीलाई कितावी ज्ञानमात्रै हैन व्यवहारिक जिवनमा भोग्नुपर्ने,व्यवहार गर्नुपर्ने विषयबारे वास्तविक स्थलमै गएर व्यवहारिक तथा प्रयोगात्मक ज्ञान दिने उद्देश्यले अवलोकन भ्रमण गराउने गरेको पाठशालाका प्रिन्सिपल दिपेन्द्र खुलालले जानकारी दिए । गूकुलको योजना यतिमा मात्रै सिमित छैन् । बेलबारी ३ मै रहेको दाना उद्योग र बेलबारी १ मा रहेको भाँडा फ्याक्ट्रीमा पनि विद्यार्थीलाई अवलोकन भ्रमण गराउने गुरुकुलको तयारी रहेको प्रिन्सिपल खुलाल बताउँछन् ।


कक्षाकोठामा विद्यार्थीले छिट्टै सिक्न सक्ने अवस्था सिर्जना गरेर सिकाई उपलब्धी हाँसिल गर्ने तर्फ त गुरुकुलले ध्यान दिएकै छ । यसका साथै स्थलगत भ्रमण र क्रियाकलापमै सहभागी गराएर बेलैदेखि व्यवहारिक ज्ञान दिने तर्फ आफुहरु सचेत रहेको गुरुकुल पाठशालाकी कोअर्डीनेटर रश्मी श्रेष्ठ बताउँछिन् ।
संस्कार र संस्कृतिमा सरोकार

गुरुकुलले विद्यार्थीमा नैतिक संस्कार र मौलिक संस्कृतिको चेतना बेलैदेखि भर्न सके संस्कारको विकास र संस्कृतिको संरक्षणमा बल पुग्ने भएकाले यससम्बन्धी विशेष क्रियाकलापहरु गर्ने गरेको जनाएको छ । त्यसैले नेपाली मौलिकता झल्कने पर्व,अवसरहरुमा गरिने क्रियाकलापहरुलाई सर्लक्कै विद्यालयमा उतार्ने र विद्यार्थीलाई पनि त्यसमा सहभागी गराउने गरेको छ । असार पन्ध्र,दशै,तिहार,उधौली,उभौली जस्ता अवसरमा मौलिकता सहितको मौलिकता देखिने गरी विद्यार्थीलाई सहभागिता गराउँदै आएको गुरुकुलले दावी गरेको छ । प्रिन्सिपल खुलाल भन्छन् ‘ वाह्य संस्कृतिको प्रभावले हाम्रो मौलिकता खतरामा पर्ने संकेतहरु देखिएका छन् । यसलाई जोगाउने जिम्मेवारी हामीमा पनि छ । हाम्रा विद्यार्थीहरुलाई आफ्नोपनमा रमाउन हामी सिकाउने प्रयासमा लागेका छौं ।’
वहुजातिय र वहुसांस्कृतिक देशमा सबै मौलिक संस्कृतिको ज्ञान दिने र यसको संरक्षणमा हामी नै लाग्ने हो भन्ने कुरा विद्यार्थीहरुमा महसुस गराउन आफुहरु प्रयासरत रहेको गुरुकुल पाठशालाका निर्देशक सुनिलदत्त अधिकारी बताउँछन् ।

Facebook Comments
Show More

Related Articles