शिक्षा-स्वास्थ्यसमाचार

माध्यमिक शिक्षा निशुल्क व्यवहारमा लागु गरिनुपर्नेमा जोड, नभए अदालत जान्छौं :सुजित बस्नेत

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष १९
संविधानमै माध्यमिक शिक्षा निशुल्कको व्यवस्था भएपनि व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न सरकार अग्रसर हुनुपर्नेमा बेलबारीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । युवा जागरण अभियान नेपालले आयोजना गरेको शैक्षिक अधिकारका लागि र्याली तथा छात्रवृत्ति वितरण कार्यक्रमका सहभागीहरुले शिक्षा पाउने कुरा कागजमा लेख्नको लागि हैन व्यवहारमा उतार्नुपर्ने बताएका हुन् ।
नेपालको वर्तमान संविधानमा माध्यमिक तह सम्म निशुल्कको व्यवस्था भएपनि व्यवहारमा त्यो लागु भएको छैन् ।अहिले माध्यमिक तह भनेर कक्षा १२ सम्म भनिएको छ । युवा जागरण अभियानले १२ कक्षासम्म नै शिक्षा निशुल्क हुनुपर्ने भनेर दवाव स्वरुप विद्यार्थीहरुलाई सहभागी गराएर र्याली समेत आयोजना गरेको थियो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शिक्षालाई मौलिक हकको रुपमा उल्लेख गरिएकाले शिक्षा पाउने हक सबैको रहेको बताउनुभयो । शिक्षा क्षेत्रको विकासका लागि नगरपालिका प्रयासरत रहेको पनि बताउनुभयो ।कांग्रेस महासमिति सदस्य ललित श्रेष्ठले अहिलेको स्थाई सरकारले शिक्षामा विपन्न वर्गको समेत पहुँच हुने र जेहेन्दार विद्यार्थीले उच्चशिक्षा सम्म हासिल गर्न सक्ने व्यवस्था देशैभर मिलाउनुपर्ने बताउनुभयो ।
कांग्रेसका अर्का महासमिति सदस्य महेन्द्र सुवेदीले पनि आर्थिक अभावमा कक्षा नै छोड्ने अवस्थाका विद्यार्थीको पहिचान गरेर उनीहरुको अध्ययन निरन्तरताका लागि युवा जागरण अभियानको कामबाट प्रेरणा लिनुपर्ने लिएर राज्यपक्षबाटै यस्तो काम हुनुपर्ने बताउनुभयो । आफुले पनि यस्तो काममा सकेको सहयोग गर्ने पनि सुवेदीले बताउनुभएको छ ।
माध्यमिक शिक्षा निशुल्क गरिएन भने अदालतसम्म जान्छौं : अध्यक्ष बस्नेत
युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेतले संविधानमा टाँस्नका लागि मात्रै माध्यमिक शिक्षा निशुल्क भन्नु दुखद भएको बताउनुभयो । कक्षा ११ र १२ पनि निशुल्क गर्न उहाँले तिनै तहका सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यदि संविधानमै भएको कुरा व्यवहारमा लागु नभए संविधानको धारा,उपधारा पहिल्याउँदै अदालतको ढोका ढकढक्याउन समेत पछि नपर्ने चेतावनी दिनुभएको छ ।‘माध्यमिक तह निशुल्क गर्ने जिम्मेवारी स्थानिय,प्रदेश वा केन्द्र सरकार कस्को हो अविलम्व पुरा गरियोस ।’ बस्नेतले चेतावनी दिँदै भने ‘ यस्को र उसको जिम्मेवारी हो भन्दै पन्छिने र विद्यार्थीको शिक्षा पाउने अधिकार बाट बञ्चित गरियो भने यसको विरुद्ध नियम कानुन,संीवधानको धारा उपधारा हेरेर अदालतको ढोकासम्म जान हामी पछि पर्दैनौ ।’ शिक्षा क्षेत्रलाइ निर्वाध रुपमा सञ्चालन हुन दिनुपर्ने भन्दै बस्नेतले शिक्षाक्षेत्रमा बन्द हड्ताल गर्नेहरु विरुद्ध खरो उत्रने पनि बताउनुभयो । धेरै विपन्न परिवारका विद्यार्थीहरुले शुल्क तिर्न नसकेर परिक्षाको प्रवेशपत्र नपाएका उदाहणहरु धेरै रहेको भन्दे राज्यको आँखा पुगोस भन्दै ध्यानाकर्षण समेत गराउनुभएको छ ।
संविधानमा शिक्षा सम्बन्धी कस्तो व्यवस्था छ ?
नेपालको वर्तमान संविधानमा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ । जसमा प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुनेछ भनिएको छ । प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनिएको छ । अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउनेहक हुनेछ । दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ । नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भनिएको छ ।
१७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
युवा जागरण अभियान नेपालले बेलबारी नगरभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत तथा बेलबारी बहुमुखी क्याम्पसमा स्नातक अध्यनरत विद्यार्थी समेत १७ जनालाई छात्रवृत्ति वितरण गरेको छ । युवा जागरण अभियानले सञ्चालन गरेको शैक्षिक महोत्सवबाट संकलित १५ लाख रुपैयाँबाट फिक्स डिपोजिट गरी त्यसबापत आउने रकमबाट छात्रवृत्ति वितरण गरिएको युवा जागरणका कोषाध्यक्ष जनक लिम्बुले जानकारी दिनुभयो । छात्रवृत्ति पाउनेहरुमा कसेनी माविका रुद्रबस्नेत र विमला कुमारी विक, धनपाल माविका कमला गिरी , कल्पना खवास र निरुता कुमारी चौधरी , भगवती माविका पेमा शेर्पा र रिस्मा परियार, लक्ष्मी माविबाट नम्रता धिमाल र शंकर थापा, जनता माविबाट निशल कुमार चौधरी र बबिता कार्की, धिरनाथ सम्फुल विश्वास माविबाट मिलन तामाङ र निलिमा राजवंशी, कालि माविबाट सलिप कुमार खवास र पिंयका खवास, बेलबारी बहुमुखी क्याम्पसबाट अन्जनी धिमाल र बुधमाया लिम्बु रहेका छन् । छात्रवृत्ति पाउने विद्यार्थीहरुलाई एक वर्षमा लाग्ने खर्च बराबरको रकम प्रदान गरिएको युवा जागरण अभियान नेपालले जानकारी दिएको छ ।

Facebook Comments
Show More

Related Articles