समाचार

आज तमु ल्होसार विभिन्न कार्यक्रम गरेर मनाइदै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष १५
आज तमु ल्होसार विभिन्न कार्यक्रम गरेर मनाइदैछ । तमु संवतअनुसार प्रत्येक पुस १५ मा तमु ल्होसार मनाइन्छ । गुरुङ समुदायलाई जनाउने अर्काे नाम तमु हो । तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत सुरु भएको सङ्केत गर्छ । प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारका दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । ल्होसारका दिनदेखि नयाँ वर्ष अर्थात नयाँ ल्हो (वर्गको) थालनी हुनेगरेको जनविश्वास रहिआएको छ । जसअनुसार विभिन्न १२ वटा जनावरको नामबाट १२ वटा वर्ग निर्धारण गरिएको हुन्छ । तमु (गुरुङ) जातिले तमु ल्होसारलाई नयाँ वर्षका रूपमा आफ्नो मौलिक पर्वको रूपमा मनाउँदै आएका छन् । मौलिक रुपमा हेर्ने हो भने तमु ल्होसारको रौनक घर घरमा देखिन्छ ।
ल्होसार तीन किसिमका छन् । तमु ल्होसार, सोनम ल्होसार र ग्याल्पो ल्होसार । तमु ल्होसार तमु (गुरुङ) जातिले मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्पो ल्होसार हिमाली आदिवासी जनजातिले मनाउने गर्छन् । नाम, तिथि र मिति फरक भए पनि ल्होसारको अर्थ र परिभाषा भनेको एउटै छ । गुरुङ, तामाङ र हिमाली जनजातिले यसलाई महान् चाड तथा नयाँ वर्षका रूपमा मनाउने गर्छन् । ल्होसार भनेको नयाँ वर्ष हो ।

Facebook Comments
Show More

Related Articles