nirantarkhabarखेलकुदसमाचार

भैरहवा ईपीएलको फाइनलमा, उपाधिका लागि शनिबार ललितपुरसँग खेल्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

५ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल खेल्ने दुइ टिमको टुङ्गो भएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा ईपीएलको दोस्रो क्वालिफायर खेलमा काठमाडौं किंग्स इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर्सले फाइनलमा स्थान बनाएको छ ।

काठमाडौंले दिएको १०१ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १७ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । भैरहवाको जितमा रायन टेन डोस्च्याटले ४५ रन बनाए । त्यस्तै, रविइन्दर सिंहले ३१ रन बनाएका थिए । बलिङतर्फ काठमाडौंका सांसद शेखले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १ सय रन मात्रै बनाएको थियो । काठमाडौंका लागि सन्दीप रजालीले २७, प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर पनि बनाउन सकेनन् । भैरहवाका कुशल मल्लले तीन र मोहम्मद नभिदले दुई विकेट लिए ।

उपाधिका लागि अब शनिबार भैरहवाले ललितपुरसँग खेल्नेछ । पौष ३ गते भएको खेलमा काठमाडौं किंग्समाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै ललितपुर प्याट्रियट्स फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेताले २५ लाख नगदसहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।

Facebook Comments
Show More

Related Articles