शिक्षा-स्वास्थ्यसमाचार

चिसो र हुस्सु : स्वास्थ्यमा ध्यान सवारी चलाउँदा सावधान

यस्ता छन् सुझावहरु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष ४

हुस्सु र चिसो बढेसँगै सचेत हुनुपर्ने विषय धेरै छन्  । चिसो बढेसँगै यसले शरिरमा पनि धेरै नकारात्मक असर पार्दछ । कतिपय स्थानमा चिसोकै कारण कठ्याङ्ग्रिएर मानिसको मृत्यु पनि हुन सक्दछ । यसैले चिसोबाट जोगिने सुरक्षात्मक उपायहरु हामीले अपनाउनुपर्दछ ।
चिसोबाट बच्न आफैले घरेलु उपायहरु अपनाउन सकिने विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडीसिन विभागका डाक्टर मनिस सुवेदी बताउँछन् । डाक्टर मनिसका अनुसार चिसोमा झोलिलो पदार्थमा जोड दिनुपर्छ । तातो पानी, बेसार पानी, दुध, कालो चिया, कागती चिया, कफि तथा केहीमात्रामा दुध चिया पनि खान सकिन्छ । लगातार तातो पानी पिउने तथा वाफ लिने गर्न सकेमा चिसोबाट केहीमात्रामा सुरक्षित हुन सकिन्छ ।
बालबालिका, वृद्धवृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ । एकछिन चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ । यसर्थ न्यानो कपडा तथा टोपी निरन्तर प्रयोग गर्नुपर्छ । बालबालिकालाई उनको टोपी लगाईँदा त्यसभित्र सुतीको टोपी प्रयोग गरिदिनुपर्छ । त्यसो गर्दा उनले बिजाउने र चिलाउने कम हुन्छ ।
आगो ताप्दा पनि चिसोको असर कम हुन्छ । दाउरा उपलब्ध हुन सक्ने ठाउँमा बस्ने व्यक्तिहरुले न्यानो कपडा लगाउनुका साथै आगो ताप्दा स्वास्थ्य सहजै बिग्रिन सक्दैन ।
चिसो समयमा शरिरका विभिन्न भागहरु दुख्ने, झमझमाउने जस्ता समस्याहरु हुन सक्छन् । तोरीको तेल मनतातो बनाएर मसाज गर्दा यसले केही हदसम्म दुखाई कम गर्छ । सकेसम्म न्यानो ठाउँमा बसेर तेल मसाज गर्दा चिसोको असर कम हुन्छ ।
थन्क्याएर राखेको कपडा त्यत्तिकै प्रयोग गर्दा दम र ‘कोल्ड एलर्जी’ हुनेलाई समस्या
डाक्टर मनिसका अनुसार जाडोमा दम तथा कोल्ड एलर्जी हुनेलाई धेरै गाह्रो हुन सक्छ । यस्ता व्यक्तिले चिसोबाट जोगित विशेष सावधानी अपनाउनुपर्दछ । थन्क्याएर राखेका बाक्ला लुगा वा व्ल्याङ्केट सिरक जस्ता कपडा त्यतिकै लाउने वा ओड्ने गर्दा त्यसले समस्या थप्ने भएकाले धोएरमात्रै लाउन वा प्रयोग गर्न डाक्टर मनिस सुझाव दिन्छन् ।
चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्वपूर्ण कुरा हो । चिसोले गर्दा बालबालिकालाई निमोनिया लगायतका रोगहरु देखापर्न सक्छन् । त्यसलाई कम गर्न तेल मसाज महत्वपूर्ण उपाय बन्न सक्छ । साथै बालबालिकालाई न्यानो कपडा उत्तिकै महत्वपूर्ण हुन्छ । तर धेरै न्यानो कपडाले पसिना आउने र त्यसलाई सफा नगर्दा फेरि पनि निमोनियाको डर हुने भएकाले घाम लाग्दै जाँदा शरिरमा भएका न्यानो कपडाहरुको संख्या घटाउने तथा बेलाबेलामा कपडा खोलेर पसिना आएको नआएको हेर्ने काम गर्नुपर्दछ । पसिना आएमा कपडा फेरीदिनुपर्छ ।
चिसोको बेला मर्निङवाकमा विहानै ननिस्कने
चिसो समयमा मर्निङवाक गर्दा यसको नकारात्मक असरले विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने सम्भावना रहन्छन् । यसका कारण विहानको समयमा दौडिँदा ध्यान दिनुपर्ने अवस्था रहेको छ । डाक्टर मनिसका अनुसार घाम लागेपछि वा अलि चिसो कम भएपछि पनि वाकमा निस्कन सकिन्छ जसले गर्दा चिसोबाट जोगिन सकिन्छ ।चिसोबाट घरेलुरुपमा बच्ने कोशिष गर्दा उपलब्धि नभएमा, रुघासँगै ज्वरो तथा टाउको दुख्ने समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ ।
बाक्लो हुस्सु लाग्दा सवारीचालकले ध्यान पुर्याउँ

ट्राफिक प्रहरी पोष्ट बेलबारीका इन्चार्ज लिला श्रेष्ठ

हुस्सु लाग्ने क्रम बढेसँगै सडकमा यातायातका साधन चलाउँदा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ । हुस्सुले गर्दा दिउँसै पनि नजिकै आएको सवारी साधन नदेखिने समस्या हुन्छ । यसले गर्दा दुर्घटनाको जोखिम हुन्छ । यसैले हुस्सु लागेका बेला सवारी चलाउँदै ‘फग्गी लाइट’ प्रयोग गर्नुपर्ने ट्राफिक प्रहरी पोष्ट बेलबारीका इन्चार्ज लिला श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार हुस्सु लागेका बेला जहिले पनि सवारी विस्तारै चलाउनुपर्छ । साइकल चलाउने व्यक्तिले टल्किने र परैबाट देख्न सकिने खालको कपडा लगाउन उनले सुझाव दिएका छन् । पैदलयात्रीले पनि हुस्सु लागेका बेला भरसक टल्किने उज्यालो कपडा लगाएर हिँड्दा सुरक्षाको दृष्टिले राम्रो हुने श्रेष्ठको भनाई छ ।

Facebook Comments
Show More

Related Articles